नीता र हरिहर स्टारर ‘ह्रस्व दीर्घ’ अफिसियल गीत रिलिज |भिडियो
काठमाडौं । नेपाली तथा वलिउड र दक्षीण भारतीय फिल्मका कलाकारहरूको फ्यूजनले निर्माण घोषणा देखि नै चर्चामा रहेको फिल्म ‘ह्रस्व दीर्घ’ अब प्रदर्शनको लागि तयार छ । संविधान दिवसको अबसर पारेर आगामी असोज ३ गतेबाट दर्शकमाझ आउन लागेको फिल्मको निर्माण कम्पनि नीता फिल्मस् अब प्रचार प्रसारमा जुटेको छ ।
वर्ष २०८१ को बहु-प्रतिक्षित मानिएको चन्द्र पन्त निर्देशित यो फिल्मको शुक्रबार नाग पञ्चमीको अबसर पारेर पहिलो चल प्रचार सामग्री सार्वजनिक गरिएको छ । सार्वजनिक ‘बसेर नाचिस्यो, उठेर नाचिस्यो’ बोलको डान्सिङ नम्बरमा निर्मात्री अभिनेत्री नीता ढुङ्गाना केन्द्रमा छिन् । नीतालाई अभिनेता हरिहर अधिकारीले साथ दिएका छन् ।
गीतको भिडियोलाई उत्कृष्ट सेटमा छायांकन गरिएको छ । वलिउड कोरियोग्राफर सुष्मा सोनमले नृत्य निर्देशन गरेको गीत ‘हाइ मेकिङ’मा तयार पारिएको भान भिडियोले दिन्छ । वलिउड स्टार रणविर सिंहदेखि वरुण धवन र साउथ स्टार यसलाई निर्देशन गरिसकेकी सुष्माले भिडियोमा नीतालाई आकर्षक रूपमा चित्रण गरेकी छन् ।
दुर्गेश थापाको शब्द, संगीत र एरेञ्जमा तयार गीतको अडियो मेला महोत्सवदेखि चाडपर्व सबैतीर स्थान पाउने प्रकारको सुनिन्छ । गीतमा स्वर दुर्गेशसँगै गायिका सदिक्षा कट्टेलको छ । अडियोमा गायिका कट्टेल केन्द्रमा छिन् । वलिउड छायांकार कबिरलालले खिचेको उक्त गीतमा सम्पादन मित्र डि गुरुङको छ ।
यो फिल्ममा नीता र हरिहरसँगै चर्चित दक्षिण भारतीय कलाकार व्रह्मानन्दम, अलि, सुनिल बर्मा, कबिर दुहान वलिउड कलाकार प्रदीप रावतसँगै विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, सञ्चिता लुइँटेल, बुद्धि तामाङ, किरण केसी, प्रशान्त ताम्राकार, रविन्द्र झा, नरेन खड्का, आदर्श मिश्र लगायत नाम चलेका दर्जनबढि कलाकारहरू अभिनयमा छन् । अभिनेत्री रेखा थापाको सरप्राइज प्याकेज समेत फिल्ममा समावेश छ ।
सोसियल ड्रामा सहितको प्रेमकथामा आधारित यो फिल्मलाई भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौंमा छायांकन गरिएको छ । फिल्मको कास्टिङ डाइरेक्टर धनन्जय घलानी हुन् ।