‘सक्किगोनी’ टिमको ‘लाज शरणम्’ औपचारिक निर्माण घोषणा
चर्चित हाँस्य सिरियल ‘सक्किगोनि’ टिमका निर्देशक तथा कलाकार कुमार कट्टेलको जन्मदिनको अवसर पारेर फिल्म ‘लाज शरणम्’को औपचारिक निर्माण घोषणा गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच फिल्मको निर्माण घोषणा गरिएको हो ।
फिल्मको निर्माण घोषणा कार्यक्रममा वरिष्ठ हाँस्य कलाकर हरिवंश आचार्य, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, निर्देशक प्रदीप भट्टराई, केदार घिमिरे, निर्मल शर्मा, दीपक आचार्य, सोम धिताल, विशाल भण्डारी, ओम प्रकाश अग्रवाल र वितरक मनोज राठी लगायतको उपस्थिति रहेको थियो ।
फिल्मको निर्माण घोषणा कार्यक्रममा मिडिया हबका सञ्चालक सोम धिताललाई कदर-पत्र र दोसल्ला सहित सम्मान गरिएको थियो । फिल्मको मार्केटिङ ब्रान्डिङ पाटर्नरको रुपमा फिल्मको घोषणा कार्यक्रममा नै एडी रिलिजसँग सम्झौता गरिएको हो । फिल्ममा जिग्री पाँडे टिमका तर्फबाट कुमार कट्टेलले फिल्मको लेखन तथा निर्देशन गर्नेछन् । फिल्ममा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सहनिर्माताको रुपमा रहेका छन् ।
सुदीप बरालको छायांकन रहने फिल्ममा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले) कमलमणी नेपाल (खुपीका बाउ), माला लिम्बु, विजय बराल र मुकुन्द श्रेष्ठको मुख्य भुमिका रहनेछ । यो फिल्मबाट मुकुन्द श्रेष्ठ १२ वर्षपछि नेपाली फिल्ममा कमव्याक गर्दैछन् । फिल्ममा सक्किगोनि टिमबाट को-को कलाकार रहने तथा अन्य कलाकारहरु को-को रहने भन्ने विस्तारै सार्वजनिक गरिने जानकारी फिल्मको घोषणा कार्यक्रममा जानकारी दिइयो ।
यही वर्षको फागुन १४ अर्थात् महाशिवरात्रीको अवसर पारेर फिल्म प्रदर्शनमा ल्याउने तयारी लाज शरणम् टिमको छ । फिल्मको घोषणा कार्यक्रममा यो फिल्म हरिवंश आचार्य, दीपाश्री निरौला, रंग पत्रकार प्रकाश सुवेदी लगायतले सफलताको शुभकामना दिएका थिए । यस्तै फिल्मको घोषणा कार्यक्रममा लेखक तथा निर्देशक कुमार कट्टेलको जन्मदिन समेत सेलिब्रेसन समेत गरिएको थियो ।