‘नेपाल मानव अधिकार चलचित्र महोत्सव’ सम्पन्न, ‘नो विन्टर होलिडेज’ उत्कृष्ट
काठमाडौं । काठमाडौंमा मंगलबार सम्पन्न ११ औं संस्करणको ‘नेपाल मानव अधिकार चलचित्र महोत्सव’मा राजन कठेत र सुनिल पाण्डेको ‘नो विन्टर होलिडेज’ले उत्कृष्ट फिचर डकुमेन्ट्री अवार्ड जितेको छ । विभिन्न चलचित्र महोत्सवमा पुगेको यो डकुमेन्ट्री नेपालमा पहिलोपटक प्रदर्शन गरिएको थियो ।
त्यस्तै सर्ट फिल्मतर्फ आकांक्षा कार्कीको ‘सनाई’ले ‘वेष्ट न्यारेटिभ’ अवार्ड पाएको छ । उत्कृष्ट सर्ट डकुमेन्ट्रीतर्फको अवार्ड नेपालका एलएसएम र सहयोगराज अधिकारीको ‘यात्रा’ले पाएको छ ।
उत्कृष्ट सर्ट डकुमेन्ट्री इन्टरनेशनलतर्फको अवार्ड भने स्पेनका जुलेन जुबिटको ‘अ माउण्टेन अफ मेमोरिज’ले हात पारेको छ । त्यस्तै महोत्सवमा उत्कृष्ट नेपाली महिला निर्देशकको अवार्ड ‘एज अफ लर्निङ’बाट शुभांगी खड्काले पाएकी छिन् ।
उत्कृष्ट छोटो कथानक अन्तर्राष्ट्रियतर्फको अवार्ड जर्मनका जवाहिन जेनिटारको ‘अन माई फादर ग्रेभ’ले पाएको छ । त्यस्तै उत्कृष्ट कथानकका लागि बेलायतको एल्हम एहसासको सर्ट फिल्म ‘येल्लो’लाई र फिचर डकुमेन्ट्रितर्फ सौरभ कान्ति दत्तको ‘फतिमा’लाई जुरी मेन्सन अवार्ड प्रदान गरियो ।
मानव अधिकारसँग सम्बन्धित फोटो प्रदर्शनी समेत गरिएको महोत्सवमा विश्वभरबाट खुल्ला आवेदनबाट संकलन गरिएका कथानक चलचित्र, वृत्तचित्र, एनिमेसन लगायतका नेपालसहित २७ देशका ५४ वटा चलचित्रहरु देखाइएको थियो । महोत्सवको जुरीमा बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई थिए । नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डमा चार दिनसम्म संचालन महोत्सवमा ‘सिनेमा विकासको लागि राजनीतिक प्रतिवद्धता’ र ‘सामूहिका अधिकारः अन्तर्राष्ट्रिय प्रतिवद्धता, अभ्यास र राज्यको दायित्व’ विषयमा राजनीतिकर्मी, अधिकारकर्मी र चलचित्रकर्मीहरु बीच दुईओटा प्यानल छलफल पनि राखिएको थियो ।