Logo

‘सिङ्गिङ सुपरस्टार’ घोषणा, विजेतालाई २५ लाख पुरस्कार

नेपालमा गायन सम्बन्धि अर्को एक रियालिटी सो थपिएको छ । ईमेज च्यानलबाट प्रसारणमा आउने गरि ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’को घोषणा भएको छ । हालै शो निर्माण आयोजक भ्वाइस स्टार नेपाल र टेलिभिजनबीच सम्झौता भएको हो ।

नेपाली सुगम संगीतमा ख्याति प्राप्त गायक तथा संगीतकारहरु निर्णायकका रुपमा प्रस्तुत हुने भनिएको यस कार्यक्रममा विभिन्न ‘रियालिटी शो’मा भाग लिएर पनि आफ्नो सांगीतिक उचाइलाई उचित स्थान दिन नसकेका गायक गायिकाहरुलाई भाग लिन विशेष प्रोत्साहन दिने आयोजकले जनाएको छ । साथै दूरदराज तथा राजधानी बाहिर रहेर संघर्षरतहरुलाई पनि छनोट प्रक्रियामा उचित स्थान दिइने भनिएको छ ।

कार्यक्रमको छनोटको पहिलो चरणमा डिजिटल फर्म्याटमा अडिसन लिइनेछ । पौष महिनाको पहिलो हप्ताबाट शुरु हुने यो प्रक्रिया एक महिना अवधिको हुने बताइएको छ । उक्त प्रक्रियापछि माघ महिनाको दोश्रो हप्ताबाट नेपालका विभिन्न शहरहरुमा ‘फिजिकल अडिसन’को घोषणा हुनेछ । यी दुवै प्रक्रिया बाट छनोट भएका प्रतिस्पर्धीहरु बीच कार्यक्रमको २५ शृंखलामा प्रतिस्पर्धा हुने बताइएको छ ।

‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ विजेताले २५ लाख धनराशी प्राप्त गर्नेछन् । कार्यक्रम कहिलेबाट टेलिभिजनमा प्रसारमा आउने खुलाइएको छैन ।

उक्त ‘शो’ को प्रचार अभियानका लागि डिजिटल मिडियामा चाँडै नै ‘गेस द जजेज’ डिजिटल क्याम्पेन शुरु हुने बताइएको छ । एक महिना संचालन हुने यस क्याम्पेनका विजेताहरुले विभिन्न पुरस्कार जित्न सक्नेछन् । यस क्याम्पेनको विजेता तथा जजहरुको घोषणा एक विशेष कार्यक्रमको आयोजनाबाट हुने जानकारीमा छ ।

Comments