Logo

दुर्गेशको स्वरमा ‘कर्मा’को शीर्ष गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा शब्द तथा संगीत पनि दुर्गेश स्वयंको छ । असलका लागि असल र खराबका लागि खराब रहेको सन्देश दिएको गीतले जस्तो मान्छे त्यस्तै व्यवहार हुने सत्यलाई उजागर गरेको छ ।

गीतमा एरेन्ज पनि दुर्गेशले नै गरेका छन् । ब्याकग्राउन्ड भोकल आरसी रिमाल र भुषण खतिवडाको छ । गीतको भिडियोमा चलचित्रका मुख्य विपीन कार्की, मुकुन भुसाल, उपासना सिंह ठकुरीलगायत रहेका छन् । दुर्गेश स्वयंले पनि भिडियोमा राम्रो समय अकुपाइ गरेका छन् ।

ट्रेलरले राम्रो हाइप बनाइरहेको अवस्थामा दुर्गेशको गीतले यसलाई थप हाइप दिने अपेक्षा निर्माणपक्षको छ । यसैबीच, ‘कर्मा’को ट्रेलर नेपालसहति कतार, कोरिया र जापानमा पनि युट्युब ट्रेन्डिङमा परेको हो ।

विपीनलाई एक्सनमा उतारेका निर्देशक सौरभ चौधरीले एक्सनको जगमा बसेर पैसा र पावरका लागि मरिहत्ते गर्ने समाजको कथा भन्ने प्रयास गरेका छन् ।
‘कर्मा’मा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ ।

नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ चैत २९ गते रिलिज हुँदै छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ । एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् । ‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।

Comments