Logo

लोकप्रियता बढाउँदै ‘कर्मा’ ट्रेलर

काठमाडौं । चलचित्र ‘कर्मा’को ट्रेलरले सामाजिक सञ्जालमा चरछा बढाउँदै अघि बढेको छ । नेपालसहित विभिन्न देशमा ‘कर्मा’को ट्रेलर यतिबेला युट्यूव ट्रेन्डिङमा छ ।

ठूलो नेपाली डायस्पोरा रहेका देश कतार, कोरिया र जापानमा ‘कर्मा’को ट्रेलर युट्यूव ट्रेन्डिङमा परेको हो । नेपालमा मुभी सेक्सनको छैटौं स्थानमा छ । विभिन्न देशमा ट्रेन्डिङमा आएसँगै चलचित्र ‘कर्मा’को ओभरसिज माकेर्टमा डिमान्ड थप बढ्ने निर्माण टिमको विश्वास छ ।

बिहीबार सार्वजनिक ‘कर्मा’को ट्रेलरमा चलचित्रका मुख्य कलाकार विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरीलगायत कलाकार अटाएका छन् । सार्वजनिक ट्रेलरमा भ्रष्ट समाजले एक निर्दोष युवालाई कसरी अपराधी बनाउँछ भन्ने उल्लेख गरिएको छ ।

आफ्नो उद्देश्य प्राप्तिका लागि हिँडेको युवा कसरी परिवन्धमा परेर गुण्डागर्दी र प्रहरीको कष्टडीमा पुग्छ भन्ने ट्रेलरमा देख्न सकिन्छ । विपीनलाई एक्सनमा उतारेका निर्देशक सौरभ चौधरीले एक्सनको जगमा बसेर पैसा र पावरका लागि मरिहत्ते गर्ने समाजको कथा भनेका छन् ।

‘कर्मा’मा विपीन, उपासना मुकुन र सरितासँगै दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ । ‘कर्मा’ चैत २९ गते रिलिज हुँदै छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ ।

Comments