Logo

कस्तो छ प्रकाश सपुतको ‘वसन्त’माथि दर्शक प्रतिक्रिया ?

काठमाडौं। गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘वसन्त’को माउथ पब्लिसिटी राम्रो भइरहेको निर्देशक तथा अभिनेता प्रकाश सपूतले बताएका छन् । दर्शकको प्रतिक्रिया बुझ्न हल पुगेका निर्देशक सपुतले दर्शक प्रतिक्रिया पाउँदा खुशी लागेको सुनाए ।

‘मलाई दर्शकको प्रतिक्रिया सुन्दा दर्शकसँग सिनेमा कनेक्ट भइरहेको छ । विषयवस्तु र प्रस्तुति दर्शकले मन पराइरहनु भएको छ,’ प्रकाश भन्छन्, ‘दर्शकसँग सिनेमा कनेक्ट भइरहेकाले माउथ पब्लिसिटी राम्रो भइरहेको छ ।’

दर्शकले सिनेमाको विषय बाहिर आएजस्तो नभएको बताएका छन् । ‘वसन्तले राजनीतिक विषय उठान गरेको छ, कुनै पार्टीलाई सपोर्ट गरेको हो कि भन्ने कुरा आइरहेको छ,’ सिनेमा हेरेपछि एक दर्शकले भने, ‘राजनीतिक विषय छैन । सामाजिक कथावस्तु छ । शंका गर्ने ठाउँ छैन । ढुक्कले सिनेमा हेर्न आए हुन्छ ।’

नेपाली समाजका कथाव्यथा के छन् भनेर उजागर गर्ने काम ‘वसन्त’ले गरेको भन्दै दर्शकले सिनेमा चेतनामुलक र सन्देशमुलक रहेको बताएका हुन् । ‘स्टाटिङ र इन्डिङ एकदम राम्रो छ । सोचेभन्दा पनि राम्रो छ,’ एक दर्शक भन्छन्, ‘अभिनय र निर्देशन दुवै राम्रो छ । फेरि पटक पटक यस्तै सिनेमा हेर्न पाइयोस् । बाहिर राजनीतिक कन्ट्रोभर्सी भइरहेको छ, सिनेमा त्यस्तो छैन । त्यसैले त्यस्तो नहोस् ।’

सामाजिक कथावस्तु उठान गरेको सिनेमा ‘वसन्त’ राम्रो रहेको भन्दै सबैले हेर्नुपर्नेमा दर्शकले बताएका छन् । ‘नेपाली समाजको कथा छ । वास्तविक कथा छ । यो सिनेमा चल्नेवाला छ,’ सिनेमा हेरेपछि एक दर्शकले प्रतिक्रिया दिँदै भने, ‘गाउँको कथा राम्रोसँग उठाएको सिनेमा राम्रो छ ।’

राम्रो समाजमा केही विभेदका घटना पनि रहेको भनेर देखाउन खोजेको र त्यही नै दर्शकमा कनेक्ट भइरहेको उनले जानकारी दिए । समाजमा जसरी सुख र दुःख छ, त्यस्तै सिनेमामा पनि रुने र हँसाउने कथा रहेको उनले बताए ।

नेपाल र विदेशमा एक साथ यही चैत २२ गते रिलिजमा आएको सिनेमामा प्रकाश सपूत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भनेको छ ।

Comments