Logo

‘झिल्को’को ‘नाच पुतली’ रिलिजः गीतबाट कथा दर्शाउने प्रयास

काठमाडौं। ऐतिहासिक कथामा निर्मित चर्चीत चलचित्र ‘झोला’ फेम्ड निर्देशक यादवकुमार भट्टराईको नयाँ चलचित्र ‘झिल्को’ प्रदर्शनको लागि तयार छ । आगामी बैशाख १९ लाई प्रदर्शन मिति तोकेको चलचित्रको निर्माण टिमले प्रचार थालनी गरिसकेको छ ।

सामाजिक कथामा बनेको भनिएको चलचित्रमा समावेश गीत ‘नाच पुतली’ शुक्रबार सार्वजनिक गरिएको छ । युट्यूवमार्फत वर्ल्ड प्रिमियर गरिएको गीतले बाल संवेदना बोल्छ । गीतमा आनन्द अधिकारीको शब्दमा दिपक शर्माले सङ्गीत भर्दा गायीका शहिमा श्रेष्ठले स्वर दिएकी छन् ।

गीतको भिडियोमा नृत्यांगनाद्वय आश्मा विश्वकर्मा र चाहना पुनःको नृत्य देख्न सकिन्छ । उनीहरू दुवैले चलचित्रकी मुख्य कलाकार आयुषी ढकाललाई नृत्यमार्फत फकाउने प्रयास गरिरहेका छन् । यसका साथै भिडियोमा अभिनेता सुनिल पोखरेलको उदासीपूर्ण उपस्थिति देखाइएको छ ।

यो चलचित्र अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक असरलाई उजागर गरी बनेको निर्देशक भट्टराईले बताए । आफ्ना चलचित्रमार्फत समाजका यथार्थ पाटोहरूलाई पर्दामा उतारिरहने निर्देशक भट्टराईले यो पटक मोबाइलको अत्यधिक प्रयोगका कारण सम्बन्धमा आउने दरार, व्यक्तिहरू बीचको दूरी र वास्तविक जीवनभन्दा डिजिटल संसारमै गुम्सिँदै गएका पात्रहरूको कथा देखाइएको जनाए ।

‘झिल्को’मा आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठको अभिनय रहेको छ । चलचित्रको छायाङ्कन दीपक बज्राचार्यले गरेका हुन् भने सम्पादनमा निमेष श्रेष्ठ, कलर तथा साउन्ड मिक्सिङमा श्याम कुँवर रहँदा साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् ।

‘झिल्को’को कथा तथा पटकथा निर्देशक भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन् । मिडिया फर कल्चर प्रा.लि. को प्रस्तुति र जनता टिभीको निर्माण सहकार्यमा यो चलचित्र तयार भएको हो ।

Comments