प्रदर्शनमा आयो ‘वसन्त’, अग्रिम बुकिङमा छैन उत्साह
काठमाडौं। गायक, अभिनेता हुँदै सिनेमा निर्देशक बनेका प्रकाश सपुतको डेब्यू निर्देशकीय सिनेमा ‘वसन्त’ सार्वजनिक प्रदर्शनमा आएको छ । शुक्रबारबाट देशभरका हलहरूमा यो सिनेमा एकसाथ प्रदर्शनमा आएको हो ।
झण्डै चार सय पर्दामा एकसाथ सिनेमा लागेको निर्माण टिमले बताएको छ। सिनेमा ‘वसन्त’मा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ । सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।
गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् ।
प्रदर्शनको पहिलो शुक्रबारको सुरुवाती शोजमा सिनेमाप्रति दर्शक उत्साह देखिएको छैन । अग्रिम बुकिङ न्यून रहँदा निर्माण टिमले सिनेमाको विषयवस्तुबारे धेरै भन्दा धेरै दर्शकलाई बुझाउनु र हेरिसकेका दर्शकबाट राम्रो ‘वर्ड अफ माउथ’ आउँदा त्यसको ब्राण्डिङमा लाग्नु बुद्धिमत्ता देखिन्छ।