चलचित्र विकास बोर्डमा लोहनीलाई स्वागत, केसीको विदाई
काठमाडौं। यसैसाता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट चलचित्र विकास बोर्डको सदस्यमा नियुक्त भएका सन्तोष बाबु लोहनीले पदभार ग्रहण गरेका छन् । लोहनी नियुक्त भएसँगै आइतबार बोर्डले उनको स्वागत र कार्यकाल पूरा भएका राजु केसीको विदाई गरेको छ। केसीको कार्यकाल चैत्र १८ सम्म रहेको भएतापनि १८ गते सार्वजनिक बिदा परेकाले आइतबारै उनलाई विदाई गरिएको हो।
नवनियुक्त सदस्य लोहनी नेपाली चलचित्र क्षेत्रमा निर्देशन, अभिनय र निर्माण गर्दै आएका पाका चलचित्रकर्मी हुन् । उनले ‘अपमान’ चलचित्रबाट नेपाली चलचित्र उद्योगमा प्रवेश गरेका थिए। ‘नारी, द वुमन’ र ‘शुभलभ’ जस्ता चलचित्रहरूको निर्देशन गरेका लोहनीले ‘जय विजय’ जस्ता चर्चित चलचित्रहरूमा मुख्य भूमिका निर्वाह गरेका छन्। अभिनयका साथै उनले ‘सतरङ्गी’, ‘हलो नेपाल’ जस्ता टेलिभिजन कार्यक्रमहरूको निर्माण, निर्देशन र प्रस्तुति पनि गरेका छन्।
आइतबार साँझ सम्पन्न चलचित्र विकास बोर्डको ७४५ औं बैठकमा लोहनीलाई प्रवक्ताको रूपमा नियुक्त गरिएको छ । साथै, उनलाई बक्स अफिस कार्यान्वयन, चलचित्र अन्तर्राष्ट्रिय प्रवर्द्धन, आर्थिक सहयोग सिफारिस र मोफसल चलचित्र मूल्याङ्कन समितिको संयोजकको जिम्मेवारी दिइएको छ।
बोर्डमा रहँदा राजु केसीले नेपाली चलचित्रको प्रवर्द्धन, नीति निर्माण र फिल्म क्षेत्रको विकासमा योगदान पुर्याएका थिए। चलचित्र विकास बोर्डले उनको सेवा र योगदानको कदर गर्दै आभार व्यक्त गरेको छ।
नयाँ सदस्य लोहनीले चलचित्र क्षेत्रको प्रवर्द्धन, गुणस्तरीय सुधार र अन्तर्राष्ट्रिय स्तरमा नेपाली चलचित्रको पहुँच विस्तार गर्न प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।