Logo

‘११:५५’ रेड कार्पेट प्रिमियरः कस्तो आयो प्रतिक्रिया ?

काठमाडौं । यो शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘११:५५’ (डु नट ट्रस्ट एनिवन)को निर्माण टिमले बुधबार राजधानीमा रेड कार्पेट प्रिमियर सम्पन्न गरेको छ । क्राइम थ्रीलर जनराको सिनेमा हेर्न चलचित्रकर्मी तथा मिडियाकर्मीको बाक्लो उपस्थिति थियो ।

सिनेमा हेर्न पूर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशी, निर्देशक सवीर श्रेष्ठ, सुवर्ण थापा, सुवास कोइराला, अभिनेता आर्यन अधिकारी, गजित विष्ट, जयकिशन बस्नेत, निर्देशक तथा हाँस्य कलाकार दीपक आचार्य (काकु), बबिन राई (गल्फने बाजे) र गत फागुन २३ गतेबाट प्रदर्शनरत सिनेमा होस्टेल ३ निर्माण टिम सिनेमा हेर्न हल पुगेको थियो ।

अभिनेत्री मलिना जोशीले नेपालमा क्राइम थ्रिलर जनरामा निर्माण भएको उत्कृष्ट सिनेमा ‘११:५५’ रहेको बताइन् । निर्देशक सुवर्ण थापाले एउटा घर भित्र गज्जबले सिनेमा सक्काएको भन्दै डेब्यू निर्देशक केशव पाण्डेको तारिफ गरे । नेपालमा थोरै मात्रै सस्पेन्स क्राइम थ्रीलर जनरामा सिनेमा बन्ने भएकाले पनि यस्ता सिनेमालाई प्रोत्साहन गर्नु पर्ने बताए ।

सिनेमाका मुख्य कलाकारहरु सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र डेब्यू अभिनेता सागर खनालले पनि प्रिमियर शोमा मिलेको उत्कृष्ट प्रतिक्रियाले उत्साहित बनाएको बताएका छन् ।

सिनेमाका डेब्यू निर्देशक पाण्डेले आफ्नो लामो समयदेखिको मेहनत र सपना साकार भएको बताए । ‘मैले जुन सपना देखेर यो सिनेमा निर्माण गरेका थिए । त्यो पाउँदा निकै खुशी लागेको बताए । मेरो कथालाई मैले छानेका कलाकारहरुले जीवन्त अभिनय गरेर न्याय गरिदिनु भएकोमा आभारी छु,’ निर्देशक पाण्डेले भने ।

Comments