‘अञ्जिला’ बिजनेसः निर्माता भन्छन्, ‘२ करोडमाथिको कलेक्सन’
काठमाडौं। गत बिहीबार रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ निर्माण टिमले पहिलो तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरेको छ । निर्माताको दाबी अनुसार यो चलचित्रले बिहीबार, शुक्रबार र शनिबार गरी २ करोड ७ लाख व्यापार गरेको छ ।
चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठले वितरकहरूबाट प्राप्त रिपोर्टका आधारमा कलेक्सन रिपोर्ट सार्वजनिक गरेको बताए । चलचित्रले आइतबार पनि राम्रो व्यापार गरेको वितरक करण श्रेष्ठको दाबी छ ।
‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ । यस चलचित्रमा एन्जिला र निर्माता स्वयंम प्रेमकुमार श्रेष्ठको साथमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।
-जीवन पराजुलीको सहयोगमा ।