‘आउटलः दफा २१९’लाई सुखद प्रतिक्रिया, हलमा कस्तो छ बिजनेस ?
काठमाडौं । गत बिहिबारदेखि रिलिजमा आएको फिल्म ‘आउटलः दफा २१९’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । होलीको छेकोमा प्रदर्शनमा आएको फिल्मले शनिबारको बिदाको सदुपयोग गर्न सफल रह्यो । काठमाडौंका हलमा दर्शकको चाप देखिएपछि यसका कलाकार तथा मेकरहरु हल–हलमा पुगेका थिए ।
नयाँ टिम, नयाँ मेकर र केही नयाँ तथा पुराना कलाकारहरुको साथमा तयार भएको यो फिल्मको मेकिङ र एक्सनको चौतर्फी तारिफ भइरहेको छ । फिल्म हेरेर हलबाट निस्किएका दर्शकले पनि फिल्मको मेकिङ र एक्सनलाई हलिउड र बलिउडका फिल्मसँग तुलना गरेका छन् ।
मुख्यतः अभिनेता सुशील श्रेष्ठ केन्द्रमा छन् । ४ वर्षपछि पर्दामा फर्किएका सुशीलको कमब्याक प्रशंसनीय बनेको छ । उनको जबरजस्त एक्सन, अभिनय कला र मेहनतले दर्शकबाट प्रशंसा पाएको छ । ‘आउटलः दफा २१९’को क्लाइमेक्सको चेजिङको दृश्यले धेरैको ध्यान खिचेको छ । नेपालमा यस्तो खिचाई र दृश्य यसअघि नहेरेको भन्दै धेरै दर्शकले प्रतिक्रिया दिएका छन् ।
विक्की महर्जनले लेखन तथा निर्देशन गरेको यो फिल्ममा अमित अग्रहरिको लगानी छ । फिल्ममा सुशीलसँगै शिक्षा संग्रौला, नरेश पौड्याल, विशाल पहारी आदिको अभिनय छ । फिल्ममा नविन गुरुङको छायांकन, साहिल खानको सम्पादन तथा चुल्ठे काजीको द्वन्द्व छ ।
देशभरका हलमा एकसाथ प्रदर्शनमा आएको फिल्मले बिहिबार र शनिबार दर्शकबाट राम्रो साथ पायो । सुखद अकुपेन्सीका साथ सप्ताहन्त पार गर्दा फिल्मको हालसम्मको बक्सअफिस रिपोर्ट भने निर्माण टिमले सार्वजनिक गरेको छैन ।