‘पिताम्बर’ले एक्सन फिल्मको फरक परिभाषा बोल्छ’: निर्देशक चौलागाईं
काठमाडौं । निर्देशक कृषा चौलागाईं दोस्रो निर्देशकिय फिल्म ‘पिताम्बर’ लिएर चैत २९ गतेबाट दर्शकमाझ आउँदैछ । पहिलो फिल्म ‘एैचो पैचो’बाट बनाएको अनुभवलाई लिएर यो पटक उत्कृष्ट काम निकालेको दाबी उनको छ ।
‘पिताम्बर लार्ज स्केलको फिल्म भएर पहिला सिम्पल फर्म्याटको ‘एैचो पैचो’ नै गर्छु भन्ने निर्णय लिएको थिएँ, किनकी ‘एैचो पैचो’ पहिलो निर्देशकीय फिल्म भएकाले दर्शक र फिल्मकर्मीबाट कस्तो प्रतिक्रिया पाउँछु भन्ने थियो । यो फिल्म मेरो मनमा बसेको फिल्म थियो । यसलाई सबैले एप्रिसियट गरे । ‘एैचो पैचो’ रिलिज भएपछि मात्र मैले पिताम्बरका लागि विभिन्न लेखकसँग बसेर स्क्रिप्टको डिजाइन गरेंं’, कृषा भन्छिन् ।
कृषा ‘पिताम्बर’लाई भरपुर एक्सन फिल्म भन्छिन् । यो बीचको समयमा एक्सन फिल्म कम आइरहँदा आफ्नो फिल्ममा दर्शकले केही फरक पाउने उनको बुझाई छ । ‘एक्सन फिल्ममा खर्च र समय धेरै लाग्छ । यस्तो फिल्ममा मान्छेले रिस्क लिन चाहँदैन’, कृषा भन्छिन्, ‘यो फिल्म प्रदीप खड्काका लागि पनि नयाँ हो । प्रदीपलाई फरक अवतारमा हेर्न चाहने दर्शकको चाहनालाई पिताम्बरले पुरा गरिदिनेछ । किनकी प्रदीपलाई पूर्ण एक्सनमा हेर्ने दर्शकको रहरलाई पिताम्बरले पूर्णता दिन्छ ।’
यस्तो फिल्म बनाउनुपर्छ, जुन वियोण्ड द इमाजिन होस् । जसमा मेकर स्वतन्त्र होस् । म यस्तै फिल्म बनाउँन चाहन्थें । त्यस्तो फिल्म नआएको पनि धेरै समय भइसकेको थियो । त्यस्तो फिल्मले मासलाई हलसम्म तान्न सक्छ । मासलाई हलमा तान्न सक्नु नै फिल्मकर्मीको जित हो । त्यसकारण मासलाई हलमा ल्याउन पिताम्बर बनाएँ’, उनी भन्छिन् ।
कृषा ‘पिताम्बर’लाई फरक कथाको फिल्म भन्दिनन् । तर फिल्म हेरेपछि भने दर्शकले सन्देश भन्दा पनि मजा बोकेर घर जाने उनको दाबी छ । ‘अहिले सिठी बज्ने, ताली बज्ने, हुटिङ आउने फिल्म छैन । पिताम्बर हेरेपछि दर्शकले पीडा भूलेर मजा बोकेर घर आउँछन् । पिताम्बरले दर्शकलाई मजा दिन्छ’, कृषा खुल्छिन् ।
‘पिताम्बर’ पूर्ण रुपमा इन्टरटेनिङ फिल्म भएकाले दर्शकले काटेको टिकट र छुट्याएको समय खेर नजाने उनी ठोकुवा गर्छिन् । ‘दर्शकले एउटा टिकटमा ३,४ जना हिरोले अभिनय गरेको फिल्म हेर्न पाउनुहुन्छ । पिताम्बरमा नेपालमै पहिलोपटक तीनवटा क्यामराले खिचेका छौं । बाहिरबाट धेरै प्राविधिक सामान ल्याएका छौं । मेकिङका हिसाबले पनि यो फिल्म कस्तो बनेको रहेछ भन्ने दर्शकमा चासो भइरहेको छ । फिल्मले दर्शकलाई कनेक्ट नै गर्छ’ उनी भन्छिन् ।
कृषाले ‘पिताम्बर’को अवधारणा दिमागमा खेलाइरहँदा उनले अभिनेता प्रदीप खड्कालाई नै सम्झिएकी रहिछन् । उनलाई अलिकति आर्यन लुक्स, हल्का दाह्रीजुँगा भएको र राम्रो काम गर्न सक्ने कलाकार चाहिएको थियो । यो तिनवटै गुण उनले प्रदीपमा भेटिन् । ‘हाम्रो कथा नै स्टारबाट सुरु हुन्छ । त्यसकारण दर्शकको मन मुटुमा बसेको र राम्रो अभिनयका कारण चर्चामा आएका कलाकारलाई नै प्राथमिकता दियौं । कलाकारको परफर्मेन्स भन्दा पनि कोही भन्दा कोही कम नदेखिऊन् भनेर मल्टीस्टार लियौं । तीन प्रमुख कलाकार निश्चित थिए । फिल्म बन्दै गएपछि अन्य कलाकारहरु पनि जोडिनुभयो’, कृषाले सुनाइन् ।
संसारमा ‘ह्युमन इमोसन’को कथाले कहीँ न कहीँ छुने भएकाले ‘पिताम्बर’मा पनि ह्युमन इमोसनकै कथा प्रस्तुत गरिएको कृषा स्वीकार्छिन् । यो फिल्म तराईमा छायांकन गरिएको छ । कृषा ह्युमन इमोसनको कथा देखाउन लोकेसनले खासै फरक नपार्ने बताउँछिन् । ‘तराई भौगोलिक हिसाबले सहज छ । फिल्मका लागि चाहिने समानहरु भारतबाट ल्याएका छौं । बोर्डर नजिक काम गर्दा सहज हुन्छ भनेर नै तराई रोजेको हो’, कृषा भन्छिन् ।
तस्वीरः सुरेन्द्र थापा