बाल मनोविज्ञान बोकेको ‘सारंग’ माघ २५ बाट दर्शकमाझ
काठमाडौं । बाल मनोविज्ञानमा आधारित रहेर निर्माण भएको चलचित्र ‘सारंग’ प्रदर्शनको संघारमा छ । यहि माघ २५ गतेबाट दर्शकमाझ आउन लागेको चलचित्रको प्रचार प्रसारमा निर्माण टिम जोडतोडले लागिरहेको छ । यसअघि सार्वजनिक फिल्मको ट्रेलर, टिजरले राम्रो प्रभाव पारिरहँदा सोहि ‘हाइप’लाई हलसम्म तान्न निर्माण टिम अग्रसर छ ।
बदलिँदो नेपाली समाजमा बाबु आमाबीचको मतभेदले बच्चामा पर्ने प्रभाव, बालसगीबीचको प्रेम र बाल मित्रताको समर्पणलाई केन्द्रमा राखेर निर्देशक प्रशान्त तामाङले ‘सारंग’ तयार पारेका छन् । चलचित्रको सार्वजनिक प्रचार सामग्रीहरूले सोहि संकेत गर्छन् । शहरिया जीवनशैलीमा अभ्यस्त परिवारको दैनिकीले बाल मस्तिष्कमा पार्ने असरलाई चलचित्रमा प्रस्तुत गरिएको निर्देशक तामाङ बताउँछन् ।
बाल मनोविज्ञानको अवस्था चलचित्रले बोकेको छ, तर यो भन्दैगर्दा चलचित्र त्यति मात्रै होइन्, निर्देशक तामाङ भन्छन्, ‘चलचित्रमा हुनुपर्ने मनोरञ्जनको पूर्ण प्याकेज सबै पाउनुहुन्छ, प्रेम, रोमान्स, द्वन्द्व र रोदनको समिश्रण ‘सारंग’ हो । बाल मनोविज्ञान, बाल अधिकार, धनी र गरिब परिवारबीचको खाडलको यथार्थता लगायतका पक्षलाई चलचित्रलेसमेटेको तामाङले बताए ।
चलचित्रमा प्रमुख पात्र रहेका रहेका दुई बाल कलाकार सम्राट थापा र आदित्य कार्कीको टिजर, ट्रेलर र सार्वजनिक गीतमा प्रस्तुत अभिनयले यतिबेला प्रशंसा पाइरहेको छ । यो चलचित्रमा सम्राट र आदित्यसँगै अभिनेत्री ऋचा शर्मा,उत्पल झा,समीरमणि दीक्षित,सुरज तमु,मणि के राई,अनिषा न्यौपाने,निरज ब्ल्याक,बिश्व स्याङ्बो,दीपीका थापा,सुमन सागर जंग केसी,प्रभात श्रेष्ठ प्रमुख अभिनयमा छन् ।
दर्शन बुद्ध फिल्मस्’को ब्यानरमा निर्माण भएको यो चलचित्रको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन् । पुष्पा लिम्बू र बिनु गुरुङ सह-निर्माता रहेको चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गरेका छन् । स्टेशन ५ ले वितरण अधिकार लिएको छ ।