‘ह्रस्व दीर्घ’ आक्रामक ओपनिङ, ‘अफ डे’मा अकुपेन्सी बढाउन चुनौती
काठमाडौं । नेपाली र दक्षीण भारतीय फिल्मका चर्चित कलाकारहरूसहित निर्माण भएर प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ले आक्रामक ओपनिङ गरेको छ । प्रदर्शनको सुरुवाती दुई दिन शुक्रबार र शनिबार देशभरका हलहरूमा दर्शकको भिड देखियो, फिल्मलाई प्राप्त शोजहरू हाउसफूल बने ।
अभिनेत्री नीता ढुंगानाको निजी कम्पनि नीता फिल्मस्’को ब्यानरमा तयार फिल्म निर्माण घोषणाको दिनदेखि चर्चामा नै थियो । फिल्ममा जोडिएका कलाकारहरूको लाइनअपले धेरै दर्शकलाई कौतुहल बनाएको थियो । त्यसको प्रभाव इनिसियल बिजनेसमा देखिएको छ । पब्लिक रिभ्यू फिल्मको लागि सुखद आइरहेको छ ।
वितरक मनोज राठीले शुक्रबार बिहानी शोबाट नै उत्साहजनक व्यापारको सुरुवात गरेको फिल्मको रफ्तार शनिबार दिनभर पनि उस्तै रहेको बताए । पर्याप्त शो नहुँदा धेरै दर्शकहरु टिकट नपाएर फर्केको उनको दाबी छ । निर्मात्री समेत रहेकी अभिनेत्री नीता ढुंगानाले समेत फिल्मले आक्रामक व्यापार गर्दा पनि शनिबार शो नथपिएको गुनासो गरेकी छन् । फिल्म देशभरका करिब डेढ सय हलमा प्रदर्शनमा आएको थियो ।
शनिबार पनि काठमाडौं उपत्यकाका क्युएफएक्स विभिन्न हल, बिग मुभिज, वान सिनेमाज, एफक्युब सिनेमाज लगायतका हलमा दर्शक प्रतिक्रिया बुझ्न निर्माण टिम पुगेको थियो । निर्माण टिम हल पुग्दा दर्शकले ताली र सिटीले स्वागत गर्दै ह्रस्व दीर्घको दोस्रो भागको डिमाण्ड पनि गरे ।
यो फिल्मले राजधानीसँगै नेपाली फिल्मको मुख्य केन्द्र मानिने नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, विराटनगर, इटहरी, धरान, दमक बिर्तामोड र धनगढी लगायतका शहरहरूमा उत्कृष प्रतिक्रिया दर्शकबाट पाएको छ । उत्कृष्ट व्यापार गरेसँगै बलिउड अभिनेता तथा गजनी भिलेन प्रदीप रावत समेत आइतबार ह्रस्व दीर्घ हेर्न र दर्शकसँग साक्षात्कार गर्न नेपाल आउँदै छन् । उनि फिल्ममा महत्वपूर्ण भुमिकाका छन् ।
यो फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
चन्द्र पन्तको निर्देशनमा अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।
सुरुवाती बिजनेसमा उछाल ल्याएको फिल्मले आइतबारबाट अफ डे सुरु हुँदै गर्दा दर्शकको यो साथलाई कतिसम्म निरन्तरता दिनसक्छ प्रतिक्षाको विषय रहनेछ । आइतबार बिहानी सत्रको अकुपेन्सी मध्यम छ । कार्यालय समय सकिँदै गर्दा रात्रिकालिन शोजहरूमा फिल्मले दर्शकको राम्रो साथ पाउने प्रक्षेपण छ ।