‘म्यान अफ दि इयर २०२४’ मा नेपालको प्रतिनिधित्व गर्दै थाइल्यान्ड उडे कृष्ण न्युरे
काठमाडौं । थाइल्यान्डमा हुन गइरहेको ‘म्यान अफ दि इयर २०२४’ को ग्लोबल प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व कृष्ण न्युरेले गर्ने भएका छन् । उक्त प्रतियोगिताको ग्राण्ड फिनालीमा सहभागी हुन शनिबार न्युरे थाइल्यान्ड प्रस्थान गरेका छन् ।
ग्राण्ड फिनाली शनिबार (९ नोभेम्बर) देखि १९ नोभेम्बरसम्म चल्नेछ । नेपालसहित विभिन्न ६६ देशका राष्ट्रिय स्तरका विजेताहरूले विश्व विजेताको लागि प्रतिस्पर्धा गर्दैछन् ।
गत सेप्टेम्बरमा सम्पन्न ‘म्यान अफ दि इयर २०२४’मा नेपालको विजेता बनेपछि न्युरेले ग्लोबल प्रतिस्पर्धाको अबसर पाएका हुन् । यु क्यान फ्लाई फेसन प्रालिले आयोजना गरेको नेपाल संस्करणमा अमेरिका बस्दै आएका रुपन्देहीका न्युरेले बाजी मारेका थिए । उक्त संस्थाको तर्फबाट उनले ग्लोबल प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्न लागेका हुन् ।
थाइल्यान्डमा उनले नेपाली कला संस्कृति झल्काउने विभिन्न पहिरनमा र्याम वाक गर्नेछन् । संसारमै लोपोन्मुख रहेको नेपालमा पाइने एक सिंगे गैंडा जगेर्नाको संदेशसहितको पहिचान झल्किनेगरि नेपालको प्रतिनिधित्व गर्न लागिएको यू क्यान फ्लाई फेसन प्रालिका निर्देशक संसद शाहले बताए । थाइल्यान्ड प्रस्थानपूर्व न्युरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शाहसँगै संस्थाकी कार्यकारी निर्देशक स्वीकृति प्याकुरेल लगायतले सफलताको शुभकामनासहित विदाइ गरे ।
ग्लोबल प्रतिस्पर्धामा देशको प्रतिनिधित्व गर्न पाउनु महत्वपूर्ण उपलब्धि भन्दै न्युरेले नेपाली कला संस्कृतिलाई विश्वमाझ चिनाउँदै देशको नाम उँचो बनाएर फर्किने बताए ।