Logo

‘एक मुठ्ठी बादल: माई सेयर अफ स्काई’ले नेदरल्यान्डमा जित्यो ६० हजार युरो पुरस्कार

काठमाडौं । निर्माणाधिन नेपाली कथानक चलचित्र ‘एक मुठ्ठी बादलः माई सेयर अफ स्काई’ नेदरल्यान्डको ह्युबर्ट बाल्स फण्ड पोस्ट-प्रोडक्सन अनुदानका लागि चयन भएको छ । यस अन्तर्गत चलचित्रले ६०,००० युरो आर्थिक सहयोग प्राप्त गर्ने भएको छ । जुन ८७ लाख नेपाली रुपैँया बराबर हुन आउँछ ।

‘एक मुठ्ठी बादल’की निर्देशक साहारा शर्मा ह्युबर्ट बाल्स फण्डको पोस्ट-प्रोडक्सन अनुदान जित्ने पहिलो नेपाली महिला निर्देशक हुन् । गौथली इन्टरटेन्मेन्ट (नेपाल), थर्ड कल्चर किड्स (जर्मनी), र क्रोमोजोम फिल्म (जर्मनी) को सह-निर्माण रहेको यो फिल्म नेपालकै पहिलो महिला प्रधान अन्तर्राष्ट्रिय स्तरमा सह-निर्मित चलचित्र हो ।

यस फिल्ममा नेपालबाट निर्माता ‘मन प्रडक्सन’ र ‘अन्डरग्राउन्ड टकिज’ पनि निर्माणमा सहभागी रहेका छन् । यस् चलचित्रका अन्य प्रमुख निर्माताहरूमा नेपालबाट अनुप पौडेल र सामीप्य राज तिमल्सेना रहेका छन् भने कार्यकारी निर्माताका रूपमा निकुन श्रेष्ठ संलग्न छन् । साथै जर्मनीबाट रोक्शाना रिचर निर्माताको रुपमा रहेकी छिन् ।

विवाहको पृष्ठभूमिमा बुनिएको ‘एक मुठ्ठी बादल’ले घरभित्रको सीमित दायराभित्र स्वतन्त्रताको सपना देख्ने एक युवतीको कथा प्रस्तुत गर्दछ । युवतीमाथि समाजले राखेका अनेकन अपेक्षा र आफू भित्र निसास्सिरहेको उनको स्वतन्त्रताको चाहनाबीच उत्पन्न द्वन्द्वलाई चलचित्रले उजागर गर्दछ ।

गृहिणी हुनुका साथसाथै पारिवारिक जीवनको पनि केन्द्रमा रहेका नेपाली समाजका कैयौँ महिलाका अनेक अदृश्य त्याग, संघर्षलाई र निःस्वार्थ योगदानलाई चलचित्रले कथानकमा समेटेको छ ।

चलचित्रमा निशा शर्मा, शेखर चापागाईं, आँचल शर्मा, उषा रजक, मनीष निरौला, सहयोग अधिकारी, गौरव बिष्ट, अविरल प्रताप अधिकारी, भीमा मैनाली, अश्मिता गौतम आदि कलाकारको अभिनय रहेको छ ।

निर्देशक सहारा शर्माले चलचित्रले पोस्ट प्रडक्सनका लागि प्रतिष्ठित फन्ड पाएकोमा खुसी व्यक्त गरेकी छन् । ‘नेपाली नारीहरूका दुःख, सुख, त्याग, तपस्या, वलिदान, यिनका अनेक पक्ष र क्षमतालाई विश्व स्तरमा चिनाउने मेरो सँधै प्रयत्न रहेको छ । यो पुरस्कारले त्यहीतर्फ चलेको हाम्रो यात्रालाई उडान भरेको छ, म अत्यन्तै खुसी छु’ शर्माको भनाइ छ ।

यस चलचित्रका निर्माता अभिमन्यु दीक्षित महिला-केन्द्रित फिल्म निर्माणका लागि समर्पित अभियन्ता हुनुका साथसाथै गौथली इन्टरटेन्मेन्टका सञ्चालक पनि हुन्। दीक्षित रोटरडम ल्याब तथा कान्स फिल्म फेस्टिभलको प्रडुसर नेट्वर्कका सहभागी पनि हुन् ।

उनको नेतृत्वमा ‘एक मुठ्ठी बादल’ लोकार्नो ओपन डोर्स कन्सल्टेन्सी, इण्डियन फिल्म बजारमा, लगायत ढाकाको वेस्ट मिट्स इस्ट स्क्रिनप्ले ल्याबमा पनि छनौटमा परेको छ । चलचित्रका सह-निर्माता सारा फाजिलात, एक अनुभवी अन्तर्राष्ट्रिय फिल्मकर्मी, साथै प्रतिष्ठित कलाकार पनि हुन् । ‘निको’ (२०२१) र ‘होली स्पाइडर’ (२०२२) जस्ता प्रख्यात र पुरस्कृत फिल्महरूका निर्माता र अभिनेतृ समेत रहेकी फाजिलात चलचित्रद्वारा समानता र विविधता प्रवद्र्धन गर्ने अभियानमा सक्रिय भूमिका खेल्दै आएकी छिन् ।

Comments