सिनेमाटोग्राफरलाई विकास बोर्डले ड्रोन पाइलटको तालिम दिने
काठमाडौं । प्रविधीको बढ्दो प्रयोगसँगै नेपाली फिल्म क्षेत्रमा पनि नयाँ प्रयोगको थालनी भइरहेको छ । कुनै समय रीलमा खिचिने नेपाली फिल्म यतिबेला फोरके, रेड, ब्ल्याक म्याजिक र एरीसम्म आइसकेको छ । जहाँ दृश्यलाई थप सुन्दर र खुला रूपले देखाउन ड्रोनको प्रयोग पनि उत्तिकै बढ्दो छ । तर सबै क्यामेरा हेण्डल गर्नसक्ने सिनेमाटोग्राफर ड्रोनको प्रयोगमा सक्षम हुँदैनन् ।
नेपाली फिल्ममा ड्रोनको प्रयोग बढिरहँदा यसलाई मोनिटरिङ गर्ने दक्षता उत्तिकै हुनु जरुरी छ । उल्लेखित कुरालाई ध्यानमा राखेर चलचित्र विकास बोर्डले १० दिने ड्रोन पाइलट ट्रेनिङ सञ्चालन गर्ने भएको छ ।
मुख्यतः नेपाली फिल्ममा सिनेमाटोग्राफरलाई लक्षित गरेर सञ्चालन गर्न लागिएको ट्रेनिङमा ड्रोनको प्रयोग र यसको प्रयोग पछाडीका कानुनी व्यवस्थाबारे कक्षा दिइने बोर्डले बताएको छ । बोर्डले बुधबार सूचना जारी गर्दै कार्यशालामा सहभागी हुन नेपाली छायाँकारहरूलाई आग्रह समेत गरेको छ ।
दक्षता अभिवृद्धिका लागि पहिलो चरणमा २५ जना नेपाली फिल्मका छायाँकारहरूलाई तालिम दिन लागिएको बोर्ड अध्यक्ष दिनेश डिसीले बताए । विदेशमा ड्रोन पाइलट अध्ययन गरेका उड्डयन क्षेत्र र नेपाल प्रहरीका विज्ञले तालिम दिने अध्यक्ष डिसीले बताएका छन् ।आवेदन फारम बोर्डको वेबसाइटबाट डाउनलोड गर्न सकिने सुचनामा जनाइएको छ ।