बोक्सी विरुद्धको‘अग्निदहन’, गीतमा हेर्नुहोस् ‘दाइ दाइ नभन मलाई’ |भिडियो
काठमाडौं । बोक्सीको अन्ध विश्वासविरुद्ध निर्माण गरिएको फिल्म ‘अग्निदहन’को ‘दाइ दाइ नभन मलाई’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा पार्वती जिसी र तुलसी क्षेत्रीको स्वर रहेको छ । परशुराम अधिकारीको संगीत रहेको गीतमा लोकमणि पौडेलको रचना रहेको छ ।
धर्मेन्द्र पौडेलले केरियोग्राफी गरेको गीतको भिडियोमा अनुपमा भण्डारी, प्रमिला तुलाचन, रमा त्रिपाठी, सनिशा भट्टराई, तुलसी क्षेत्री, सरला कुमारी पाण्डे, प्रसिना आचार्य लगायत रहेका छन् ।
विवाहको सेटअपमा तयार परिएको ‘दाइ दाइ नभन’ रत्यौली खेल्दै गाइने झ्याउरे पाराको गीत रहेको छ । भिडियोमा पश्चिमाञ्चल क्षेत्र वरपर प्रचलनमा रहेको यस रत्यौलीमा छोरी मान्छे लोग्ने मान्छे बनेर नाच्ने प्रचलन देख्न पाइन्छ। जसलाई ‘लुठो’ बन्ने भन्ने गरिन्छ। भिडियोमा रमा त्रिपाठी लूठो बनेकी छन् ।
साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक यो फिल्म आगामी मंसिर ७ गते रिलिज हुँदैछ । यस फिल्मलाई मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको हो । यो संस्था बोक्सी कुप्रथालाई शिक्षा र चेतनाको माध्यमद्वारा अन्त्य गरी नेपाललाई बोक्सी कुप्रथाको अन्धविश्वासबाट मुक्त गराएरै छोड्ने अठोटका साथ २०७१ सालमा स्थापना गरिएको हो ।
फिल्ममा घनश्याम लामिछानेको निर्देशन छ । निर्देशक लामिछाने एउटा डरलाग्दो विषयलाई फिल्ममा उठान गरिएको बताउँछन् । ‘फिल्ममा थ्रिल, सस्पेन्स सबै छ । उपन्यासलाई हामीले सिनेम्याटिक तवरबाट फिल्ममा उतारेका छौं । फिल्ममा दर्शकले सन्देश र उत्सुकता दुवै पाउनुहुनेछ’, उनी भन्छन् । मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी रुपमा अभियानको रुपमा अगाडि बढाउन फिल्म निर्माण गरिएको उनको भनाइ छ ।
फिल्मका परिकल्पनाकार कोविदशरण उपाध्यायले फिल्मलाई तराईका जिल्लामा प्रदर्शन गराउनका लागि मैथिली र भोजपुरी भाषामा समेत डबिङ गरिएको बताएका छन् । उनका अनुसार फिल्म अंग्रेजी भाषामा पनि सबटाइटल गरिएको छ ।
मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानका अध्यक्षसमेत रहेका कोविदचरण उपाध्ययले नेपालमा बोक्सी प्रथा उन्मुलनका लागि यो फिल्म बनाइएको बताए । संस्थागत रूपमा निर्माण गरिएको फिल्म भएकाले यस निर्माता कोही पनि नरहेको प्रतिष्ठानका अध्यक्ष उपाध्यय बताउँछन् । यस फिल्मको विशिष्ट संरक्षकको रूपमा भुवनेश्वर पौडेल र मोहन राज पौडेल रहेका छन् ।
फिल्मको मुख्य भूमिकामा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङको अभिनय छ ।
फिल्ममा लोकमणि पौडेलको कथा, पटकथा र संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको मुख्य सहायक निर्देशन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन छ । चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको यो फिल्मलाई निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले हेरिसकेका छन् ।
यस्तै, केही समय अघि यो फिल्म भारतको बिहारस्थित सीतामढीमा कमाण्डेन्ट अफ एसएसबी-२० औं बटालियनमा बटालियन प्रमुख गिरीशचन्द्र पाण्डेय र फिल्मको निर्माण पक्षको उपस्थितिमा प्रदर्शन गरिएको थियो ।