Logo

एक्सन थ्रीलर जनरामा फिल्म बन्ने, अनुपबिक्रम र सौगात अनुबन्धित

काठमाडौं । सिमोस सुनुवारको निर्देशनमा एक्सन प्रधान फिल्म बन्ने भएको छ । निर्माण तय भएको एक अनटाइटल प्रोजेक्टमा हाल कलाकार अनुबन्धनको काम चलिरहेको निर्माण पक्षले बताएको छ ।

निर्माण ब्यानर ‘कर्म ए प्रोडक्सन’को तर्फबाट बन्न लागेको फिल्म एक्सन थ्रीलर जनरामा तयार हुने निर्देशक सुनुवारले बताए । हालसम्म यो फिल्ममा अभिनेताद्वय अनुपबिक्रम शाही र सौगात मल्लले काम गर्ने कन्फर्म भएको छ । दुबै अभिनेतालाई यसैसाता अनुबन्धित गरेको निर्माण कम्पनिले बताएको छ ।

यसअघि ‘लप्पन छप्पन’मा एकसाथ काम गरेका सौगात र अनुपबिक्रमको यो दोस्रो सहकार्य हुनेछ । प्रदिप भारद्वाजको कथामा निर्माण हुने फिल्मको प्रमुख अभिनेत्रीसहितको पूर्ण कास्टिङ लाइनअप भने सार्वजनिक गरिएको छैन् । निर्देशक सुनुवारले पछिल्लो पुस्ताको नाम चलेकै अभिनेत्री फिल्ममा जोडिने बताए । दुई अभिनेत्रीले यो फिल्ममा मुख्य भुमिका निभाउनेछन् ।

कर्म पिङ्की भुटियाको निर्माणमा बन्ने यो फिल्मलाई हरि हुमागाइँले छायांकन गर्नेछन् । दशैं पछाडि फ्लोरमा जाने बताइएको यो प्रोजेक्टलाई सन् २०२५ (वि.सं. २०८२) मा प्रदर्शनमा ल्याउने निर्मात्री भुटियाले बताइन् । लामो समयदेखि सामाजिक कार्य तथा विजनेसमा सकृय उनले पहिलो पटक फिल्म निर्माणमा पाइला अघि बढाएकी हुन् ।

नेपालमा २५ प्रतिशत खिचिने यो फिल्मको बाँकी ७५ प्रतिशत छायांकन विदेशी भुमिमा हुनेछ । केहि सातामै औपचारिक कार्यक्रमसँगै फिल्मको नामसहित ‘कास्ट एण्ड क्रू’को बारेमा जानकारी गराउने निर्माण टिमले बताएको छ ।

Comments