पोखरेलको ‘बन्दी’ घोषणा, लक्ष्मण सुनारले निर्देशन गर्ने
काठमाडौं । निर्माता सुशील पोखरेलले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । सामाजिक सञ्जालबाट जानकारी सार्वजनिक गर्दै पोखरेलले ‘बन्दी’ नामक फिल्म निर्माणको घोषणा गरेका हुन् ।
यो फिल्ममा ‘बुलाकी’ फेम्ड निर्देशक लक्ष्मण सुनारको निर्देशन रहनेछ । सुनारले डेब्यू फिल्ममै संभावनावान निर्देशकको उपमा पाएका थिए । गत नयाँ वर्षमा रिलिज भएर हल सञ्चालकहरूबाट हेपिएको भन्दै दुई दिनमै निर्माताले हलबाट उतारेको सुनार निर्देशित ‘बुलाकी’ पुनः प्रदर्शनको तयारीमा छ ।
निर्माता पोखरेलले २०६२ सालको जनआन्दोलनको समयमा होस्टेज बनाइएका जवानको पीडा र संघर्षको यथार्थ कथामा फिल्म बन्ने उल्लेख गरेका छन् । जनयुद्धको समयमा तत्कालिन माओबादीबाट बन्धक बनाईएका भैरवनाथ गणका एक प्याराकमाण्डोको सत्य घटनामा आधारित सरभाईभल ड्रामा नै ‘बन्दी’ रहने निर्माता पोखरेलले बताए । यो फिल्ममा कथा सुशील देवकोटाको रहनेछ ।
निर्माता पोखरेलले यसअघि ‘परदेशी’, ‘मैदान’, ‘जीवनदाता’, ‘जय शिव शंकर’, ‘निगरानी’, ‘बडीगार्ड’, ‘लभ सब’, ‘राधे’, ‘यात्रा’लगायतका फिल्म निर्माण गरिसकेका छन् । ‘बन्दी’मा प्रमुख कलाकार को रहने बारे भने केहि खुलाइएको छैन ।