Logo

जापानमा बम्पर ‘फर्की’ फर्की’, अनमोललाई जोगाउनै हम्मे हम्मे !

काठमाडौं । नेपालमा सफलताको तेस्रो सातामा प्रदर्शनरत फिल्म ‘फर्की फर्की’ यतिबेला देशबाहिर समेत प्रदर्शनको क्रममा छ । विभिन्न देशमा ऐतिहासिक सफलतासहित दर्शकको रेकर्डब्रेक साथ पाएको यो फिल्मको आइतबार जापान प्रिमियर सम्पन्न भएको छ । जहाँ स्टार अभिनेता अनमोल केसीले रेड कार्पेट नापे ।

फिल्मको रेड कार्पेट प्रिमियरका लागि जापान पुगेका अनमोलले आइतबार जापानबासी नेपालीहरुसँगै बसेर ‘फर्की फर्की’ हेरेका थिए । जापानको टोकियो शहरस्थित नाकानो जिरो हलमा साँझ साढे ६ बजेबाट प्रारम्भ हुने फिल्म हेर्न ५ नबज्दै दर्शक लाइनमा बसेका थिए । हजारौं दर्शकले भरिपूर्ण हलको प्राङ्गणमा पुग्दा नै अनमोल फ्यान तथा शुभचिन्तकबाट घेरिए । आयोजक भिजोनिया कम्पनीले अनमोललाई लेमोजिन चढायर नकानो जिरो हल पुर्याएको थियो ।

फ्यानहरूबाट जोगाउँदै अनमोललाई हलभित्र पुर्याउन आयोजकलाई हम्मे हम्मे परेको प्राप्त दृश्यहरू बोल्छन् । अनमोलले हल छिरेसँगै जापानिज भाषामा सम्बोधन गरेर ‘कोनिचिवा जापान’ बोल्दा हलभरि ताली र सिट्ठी बजेको थियो । अनमोलले उपस्थित सबै दर्शकहरुलाई धन्यवाद दिए, दर्शकसँग सेल्फी खिचे अन्तर्क्रिया समेत गरे ।

कार्यक्रममा जापानका लागि नेपालका राजदुत दुर्गाबहादुर सुवेदी ,एनआरएन ए जापानका अध्यक्ष नविन न्युरेलगायतको समेत उपस्थिति थियो । ‘फर्की फर्की’को टोकियो शो अत्याधिक सफल भएको आयोजक सुवाष लामिछाने बताए ।

टोकियो शो पश्चात अनमोल ओशाका र नागोया शहरको शो’मा समेत सहभागी हुने लामिछानेले जानकारी दिए । आइतबार नेपाली फिल्मको जापाना प्रदर्शनमा नयाँ कोशेढुङ्गा साबित भयो, लामिछानेले भने, ‘राम्रो फिल्म बनाउँदा यहाँ रहेका नेपालीले समर्थन दिन्छन् मात्रै होइन् एउटा स्टार कलाकार आफुसँगै फिल्म हेर्न नेपालदेखि आउँदा उहाँलाई दिने इज्जतमा पनि जापानले केहि नयाँ सन्देश छोडेको छ ।’

Comments