Logo

बम्पर फर्की फर्कीः सुधारिएको अभिनयमा अनमोलको प्रशंसा, दर्शकले मन पराए ‘टाइम लूप’को कथा !

काठमाडौं । बुद्ध जयन्तीको अवसर पारेर जेठ १० गतेबाट रिलिज भएको फिल्म ‘फर्की फर्की’ले आक्रामक व्यापारलाई निरन्तरता दिएको छ । बिहिबार बम्पर ओपनिङ गरेको फिल्मले शुक्रबार पनि दर्शकको राम्रो साथ पाएको थियो ।

शनिबार काठमाडौं उपत्यकासहित देशभरका हलहरू बिहानैदेखि हाउसफूल रहे । उपत्यकासहित देशभरका हलमा अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म हेर्न दर्शकको भीड लागेको छ ।

काठमाडौं उपत्यकाका एफक्युब सिनेमाज, अष्टनारायण हल, बिग मुभिज, वान सिनेमाजसहित क्युएफएक्स चेन अन्तर्गतका देशभरका हल हाउसफूल हुँदा उपत्यका बाहिरका प्रमुख शहरहरुमा उत्तिकै संख्यामा फिल्ममा दर्शकको उल्लेख्य उपस्थिति रह्यो ।

दर्शकमाझ फिल्म आएपछि फिल्मका प्रमुख कलाकार अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, निर्देशक सुयोग गुरुङ, वितरक गोविन्द शाही बिहानदेखि नै दर्शक प्रतिक्रिया बुझ्न हल–हल पुगेका छन् । दर्शकबाट पाएको प्रतिक्रियाले कलाकारसहित निर्माण टिम यतिबेला गदगद छ ।

निर्देशक गुरुङले दर्शकले फिल्मको कथालाई अधिक मन पराएको बताए । ‘अनमोलको कामबाट दर्शकहरु झन बढी खुशी हुनुहुन्छ । फिल्मको मेकिङसँग क्यानभासलाई पनि उत्तिकै मनपराउनुभएको छ’, उनले भने । योसँगै स्टारको नाममा विभिन्न ट्याग पाएका अनमोलले आफ्नो स्टारडम पनि प्रमाणित गरेका छन् ।

निर्माता रोहित अधिकारीले पछिल्लो समयमा कथात्मक फिल्मको लहर चलिरहेको बेला त्यसलाई चिर्दै प्रेमकथाको ‘फर्की फर्की’ हेर्न दर्शकको भीड बढेको बताए । ‘बिहीबारदेखि नै हामीलाई दर्शकले राम्रो साथ दिनुभएको छ । आज शनिबार पनि काठमाडौं उपत्यकासहित देशभरका हलमा दर्शक संख्या उल्लेख्य रह्यो, हामीलाई दर्शकको उपस्थितिले नयाँ हौसला दिएको छ’ उनले भने ।

मुख्यत सुधारिएको अनमोलको अभिनय र नेपालमा पहिलो पटकपटक प्रयोग गरिएको ‘टाइमलूप’लाई दर्शकले तारिफ गरेका छन् । अनमोलले स्टारडम प्रमाणित गर्दा हलमा फिल्म हेरेर निस्किने दर्शकले सत प्रतिशत राम्रो प्रतिक्रिया दिएका छन् । युवा पुस्तामा अत्याधिक रुचाइएका अनमोलको यो फिल्म हेर्न वयस्क दर्शकपनि हलमा आएका छन् । ट्रेलरले बनाएको उच्च हाइपको फाइदा फिल्मको इनिसियल बिजनेसमा देखिएको छ । वर्ड अफ माउथ उच्च हुँदा फिल्मले त्यसको फाइदा लामो समयसम्म उठाउने देखिएको छ ।

Comments