Logo

महिला टिमको ‘एक मुठ्ठी बादल’ इण्डक्ल्याप

काठमाडौं । बहुसंख्यक महिला युनिटको संलग्नता रहेको फिल्म ‘एक मुठ्ठी बादल’ (My Share of Sky) को छायांकन समाप्त भएको छ । लेखक तथा निर्देशक सहारा शर्माको नेतृत्वमा यो चलचित्रमा पहिलो पटक महिलाले चलचित्र निर्माणका विभिन्न विभागहरूमा प्रमुखको भूमिका निर्वाह गरेका छन् । पोखराका लामाचौर र आसपासका ठाउँमा खिचिएको फिल्म २२ दिनमा सकिएको हो ।

डक्सकुल र प्लान इन्टरनेशनल नेपालले सन् २०२१ मा गरेको एक अनुसन्धानले नेपालमा चलचित्रकर्मीहरू भित्रको महत्त्वपूर्ण लैङ्गिक असमानतालाई प्रकाश पारेको थियो। अध्ययन्को निष्कर्ष अनुसार, नेपाली चलचित्रमा १० प्रतिशतभन्दा कम महिलाहरूले चलचित्र निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । यही कुरालाई मध्यनजर गर्दै निर्माण टिमले महिलाहरू प्रमुख, रचनात्मक र प्राविधिक भूमिकाहरूमा फस्टाउन सक्ने वातावरण निर्माणका लागि मुख्य विधाहरूमा महिलाको भूमिका चयन गरेको हो । यसले फिल्म निर्माणमा विध्मान लैङ्गिक असमानता र असन्तुलनलाई चुनौती दिने विश्वास लिएको छ ।

साहारा शर्माको लेखन तथा निर्देशन रहेको चलचित्रमा छायाँकारको भूमिका लिन ड्यानले निर्वाह गरेकी थिइन् । भियतनामकी ड्यानको यो तेश्रो फिचर चलचित्र हो भने, एक मुठ्ठी बादल पहिलो नेपाली फिचर चलचित्र हुनेछ । यसैगरी प्रडक्सन डिजाइनमा भारतकी यशस्वी सबरवाल, अडियो मिक्सर प्रियंका गायकवाड, र प्रमुख सहायक निर्देशक मर्णा जेम्स रहेका छन् । चलचित्रमा कीर्ति जोशीले मेकअप विभागको प्रमुखको जिम्मेवारी निर्वाह गरेकी थिइन् पोशाक विभागको जिम्मेवारी जानकी कडायतले सम्हालेकी थिइन्।

निकुन श्रेष्ठको कार्यकारी निर्माता रहेका चलचित्रलाई अभिमन्यु दीक्षित, अनुप पौडेल, र सामीप्यराज तिमल्सेनाले संयुत्त रुपमा निर्माण गरेका हुन् । गौथली इन्टरटेन्मेन्ट, मन प्रोडक्सन र अन्डरग्राउन्ड टकिज को प्रस्तुति रहेको चलचित्रमा महिला कलाकारलाई नै मुख्य भूमिकामा देख्न सकिनेछ । चलचित्रमा आँचल शर्मा, निशा शर्मा, उषा रजक, अस्मिता गौतम, भीमा मैनाली, शेखर चापागाइँ, मनिष निरौला, गौरव विष्ट, सहयोग राज अधिकारी, अविरलप्रताप अधिकारी आदि कलाकारको अभिनय रहेको छ। प्रस्तुत कलाकार तथा प्राविधिकको संलग्नतामा विविध प्रतिभाले क्यामेरा पछाडि मात्र नभई अगाडि पनि महिलालाई सशक्तिकरण गर्ने स्पष्ट सन्देश दिने विश्वास लिइएको छ।

८ मार्च अर्थात नारी दिवस, तथा, महाशिवरात्रीको अवसर पारेर चलचित्रको शुभ मुर्हत सँगै सुटिङ्ग सुरु गरिएको थियो । चलचित्रलाई अर्को वर्षमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

निर्देशक सहारा शर्माले चलचित्रको निर्माण अप्ठेरो र चुनौतीपूर्ण रहे पनि सिकाइका हिसाबले उपलब्धिपूर्ण भएको बताइन् । उनले भनिन्, ‘के भइरहेको थियो भोग्दा मात्र थाहा हुन्थ्यो तर म प्राविधिक टिम र कलाकारको मप्रतिको भरोसा र अथक मेहनतका लागि आभारी छु ।’

फिल्म खिच्न भनेर भियतनामबाट काठमाडौँ आएकी २८ वर्षीय लिन ड्यानले खराब मौसम र भाषाको समस्याका बीच पनि नेपालको लाइटिङ र क्यामरा क्रुको परिश्रमले सुटिङ भनेकै समयमा सकिएको बताइन् । ‘जब हामीले लास्ट सट भन्यौँ , त्यो क्षण साँच्चिकै गज्जब थियो । फिल्म सकिएको कुराले हामी सबै यति खुसी थियौँ कि, सारा कलाकार र प्राविधिक यो क्षण महसुस गर्न एकसाथ उभिएका थियौँ, ‘ उनले भनिन् ।

बलिउडका ‘रक्षा बन्धन’ लगायतका चलचित्रमा आर्ट असिस्टेन्टको काम गरेकी यशस्वी सबरवालले नेपाल हर कोहीलाई स्वागत गर्ने प्रकृतिको रहेको र आफूले पनि त्यस्तै स्वागत पाएको बताइन् । ‘ नेपालीहरुको हृदय मायालु रहेछ । सुटिङका क्रममा पाएको माया र न्यानो स्नेह मैले सदाका लागि याद राख्नेछु,’ उनको भनाइ छ ।

Comments