नेपालसँगै अमेरिका र अष्ट्रेलियामा ‘डिग्री माइला’ एकसाथ रिलिज हुने
काठमाडौं । दयाहाङ राई स्टारर फिल्म ‘डिग्री माइला’ नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा पनि चैत ३० अर्थात अप्रिल १२ देखि नै रिलिज हुने भएको छ । निर्माणपक्षले अष्ट्रेलिया र अमेरिका रिलिजको पोस्टर सार्वजनिक गर्दै फिल्म सोही मितिमा रिलिज हुने जानकारी दिएको हो ।
फिल्मलाई यी दुई देशसहित डायस्पोराभर सेभेन सिज इन्टटेन्मेन्टले रिलिज गर्दैछ । निर्माणपक्षले दिएको जानकारी अनुसार फिल्म अष्ट्रेलियाका प्रमुख शहरहरु सिड्नी, व्रिजबेन, क्यानबेरा, एडिलेट, होबर्ट, डर्विन, मेर्लवर्न, पर्थ तथा लउनसेस्टनमा रिलिज हुनेछ।
अष्ट्रेलियामा buyonlineticket.com.au बाट फिल्मको टिकट काट्न सक्नेछन् । यसैगरी यो अमेरिकाका ४० बढि शहरमा रिलिज हुँदैछ। त्यहाँ ‘डिग्री माइला’को करिब ४ सय शोहरु हुने जानकारी निर्माणपक्षले दिएको छ।
रामबाबु गुरुङ निर्देशित फिल्मले ट्रेलर रिलिज भएयता आफ्नो चर्चालाई चुल्याएको छ । ट्रेलरमा फिचर भएका दयाको डिग्री माइला चरित्रको स्वभावगत शैलीले दर्शकहरुलाई आफूतीर आकर्षित गरिरहेको छ । आँचल शर्मा दयाको जोडी बनेकी छन् । फिल्ममा उनीहरुको अन्तरजातिय प्रेम हेर्न सकिनेछ ।
उनीहरुका अलावा विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरुङ आदीको प्रमूख भूमिका रहेको छ । फिल्मलाई यस वर्ष बल्कबस्टर व्यापार गर्नसक्ने फिल्मको सूचिमा राखिएको छ । बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ ।
यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ । फिल्म सोही नामको नाटकमा आधारित रहेको छ । बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको फिल्मका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् ।
फिल्मका कार्यकारी निर्माता क्रिश लामा हुन् । फिल्ममा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । यस्तै फिल्मलाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।