‘रावायण’बाट अभिनेता शाहको कमब्याक, तीज लक्षित रिलिज घोषणा
काठमाडौं । फागु पूर्णिमाको अबसर पारेर सुदर्शन थापाको निर्देशनमा बन्ने फिल्म ‘रावायण’को प्रदर्शन मिति घोषणा गरिएको छ । कलाकारहरूको लाइनअप सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति पनि लक गरेको हो । यो फिल्म चैत्र तेस्रो साताबाट फ्लोरमा जाँदा आगामी वर्ष २०८१ को भाद्र २१ मा रिलिज हुनेछ ।
यसअघि अनमोल केसी प्रमुख भूमिकामा रहने चर्चाबीच उत्पन्न विवाद र परिस्थितिले फिल्मको छायांकन धकेलिएको थियो । अब यो फिल्मको प्रमुख अभिनेतामा पल शाह अनुबन्ध भएको जानकारीमा छ । फिल्ममा पलसँगै पूजा शर्मा, प्रियंका कार्की, प्रकाश शाह, निकिता चाण्डक, प्रमोद अग्रहरी प्रमुख कलाकार रहनेछन् । साथमा कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाल पनि कलाकारमा छन् ।
अभिनेता प्रकाश शाहको लागि यो फिल्म कमब्याक रहनेछ । यसअघि विराज भट्टको डेब्यू निर्देशन रहेको फिल्म ‘साङ्ग्लो’मा देखिएका शाह त्यसयता ठुलोपर्दामा आएका छैनन् । ‘साङ्ग्लो’ र त्यसअघि ‘लभ स्टेशन’ फिल्ममा उनले निभाएको खलपात्रको भुमिकाले चर्चा र तारिफ पाएको थियो ।
कथावस्तुमा फिट भएको कारण फिल्ममा जोडिएको बताएका शाहले सफल र स्थापित निर्देशक सुदर्शन थापासँग काम गर्न उत्साहित भएको बताए । संयोगबस यो फिल्ममा ‘साङ्ग्लो’ अभिनेत्री निकिता चाण्डक र शाह पुनः दोस्रोपटक एकसाथ देखिने भएका छन् ।
सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त ब्यानरमा बन्ने यो फिल्मलाई सुदर्शन थापा र पुजा शर्माले संयुक्त रूपमा निर्माण गर्न लागेका हुन् । फिल्ममा सौरभ लामाको छायांकन रहनेछ ।
शिवम अधिकारीको लेखन रहने फिल्ममा बिक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी रहँदा श्री श्रेष्ठ एक्शन निर्देशकमा अनुबन्धित छन् । निर्देशक थापाले फागु पूर्णिमाको शुभकामनासहित आगामी तीजमा फिल्म लिएर आउने आइतबार सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।