‘निफ’मा ‘बुलाकी’ उत्कृष्ट फिल्म, कलाकारमा विपिन र सुरक्षालाई अवार्ड
काठमाडौं । सोमबार सम्पन्न सातौं नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ)मा फिल्म ‘बुलाकी’ले उत्कृष्ट फिचर फिल्मको अवार्ड जितेको छ । निर्देशकतर्फ सोहि फिल्मबाट लक्ष्मण सुनार उत्कृष्ट घोषित हुँदा अभिनेत्रीमा पनि ‘बुलाकी’बाटै सुरक्षा पन्तले अवार्ड जितिन् ।
उत्कृष्ट फिल्म, निर्देशन र हभिनेत्रीमा दबदबा कायम गरेको ‘बुलाकी’ले ‘जारी प्रथा’को कथा बोल्छ । विराज विष्ट यो फिल्मका निर्माता हुन् । फिल्म गत बैशाख १ गते प्रदर्शनमा आएको थियो ।
अभिनेतातर्फ विपिन कार्कीले फिल्म ‘एक भागवत एक गीता’बाट उत्कृष्ट अभिनेताको अवार्ड हात पारे भने उत्कृष्ट पटकथाको अवार्ड ‘डेसान’बाट कमल एक्चै मगरले प्राप्त गरे । ‘एक भागवत एक गीता’बाट राजेश श्रेष्ठ र संकल्प भुजेलले उत्कृष्ट सिनेमाटोग्राफरको अवार्ड पाउँदा फिचर फिल्मतर्फ अडियन्स च्वाइस अवार्ड ‘पखेटा’ले प्राप्त गर्यो ।
भारतको ‘वाइल्ड स्वान’ले गौतम बुद्ध फिचर फिल्म अवार्ड, पोर्चुगलको ‘लभ लाइट’ले अन्तर्राष्ट्रिय डकुमेन्ट्रीतर्फ माउन्ट एभरेस्ट अवार्ड, इजिप्टको ‘आइ प्रमिस यू प्याराडाइज’ले उत्कृष्ट अन्तर्राष्ट्रिय लघु फिल्मतर्फ बागमती अवार्ड, चीनको ‘द ट्रेकर, द वुल्फ एण्ड द मंकी किङ्ग’ले जुरी स्पेशल मेन्सन अवार्ड तथा सर्वियाको ‘लाजरस पाथ’ले डन किहोटे उत्कृष्ट अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् ।
उत्कृष्ट राष्ट्रिय लघु फिल्मको अवार्ड ‘एट एनोदर विन्टर’ले जित्न सफल हुँदा ऐके शेर्पा उत्कृष्ट डकुमेन्ट्रीतर्फ जर्ना’बाट इनुमा राईले अवार्ड उचालिन् । राष्ट्रिय लघु फिल्म र डकुमेन्ट्रीतर्फको अडियन्स च्वाइस अवार्ड भने ‘अर्केस्ट्रा’बाट निर्देशक सफल पाण्डेले जित्न सफल भए । ५ दिनसम्म काठमाडौंमा चलेको महोत्सवमा ४० देशका ८८ फिचर फिल्म र सर्ट फिल्म तथा वृत्तचित्र देखाइएको थियो ।
महोत्सवमा फिल्म क्षेत्रलाई समेटेर विभिन्न विधामा अन्तर्क्रिया कार्यक्रम समेत गरिएको थियो । पूर्व प्रधानमन्त्री केपी ओलीसँग अभिनेता राजेश हमालले गरेको सिनेमा संवाद यतिबेला चर्चामा छ ।