Logo

दर्शकको विश्वास जित्नु नै मेकरको सन्तुष्टिः ‘महाजात्रा’ निर्देशक भट्टराई

काठमाडौं । चैत्र ९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘महाजात्रा’ यतिबेला आक्रामक प्रचारमा व्यस्त छ । निर्माण टिमले नेपाली फिल्मको मुख्य बजार मानिने सबैजसो ठाउँमा पुगेर दर्शकलाई फिल्मकोबारे जानकारी गराएको छ । हलसम्म पुग्न आग्रह गरेको छ ।

यो बीचमा रिलिजको पूर्वसन्ध्यामा सोमबार निर्माण टिमले पत्रकारहरूसँग साक्षात्कार गर्यो । राजधानीमा निर्माण टिम पत्रकारहरूसँग प्रश्नोत्तरमा उत्रिँदा निर्देशक प्रदीप भट्टराईसँगै निर्माता र कलाकारहरूले आफ्नो अनुभव साटे, फिल्मको कथावस्तुबारे जानकारी गराए  ।

निर्देशक भट्टराईले फिल्म रिलिजको अघि सधैं डर हुने बताए । परिक्षाको नतिजा आउने समयमा डरको अनुभुति हुने उनको भनाइ थियो । गल्ति कमजोरी सकभर देख्न नपरोस् भनेर सच्याउँदै काम सकाएको भन्दै उनले घुमाउरो पाराले उत्कृष्ट फिल्म बनाउन कुनै कसूर बाँकी नराखेको बोले ।

दर्शकको विश्वास जित्नु नै मेकरको सन्तुष्टि भन्दै भट्टराईले आफुले बनाउने सबै फिल्म दर्शकप्रति समर्पित हुने बताए ।

अभिनेता हरिवंश आचार्य यो फिल्ममा खलपात्रको रूपमा देखिएका छन् । देशको राजनीतिमा सबै भिलेनहरू नायक रहेको भन्दै आफ्नो खलपात्र भुमिकालाई हरिवंशले ‘नायक’को संज्ञा दिए । आफु नेताको भूमिकामा देखिएको उनले खुलाए । नेताहरूप्रति कटाक्ष गर्दै नायकहरूलाई काम गर्न नदिने जनता भिलेन भन्दै देशको राजनीतिप्रति व्यङ्ग्य गरे ।

अभिनेता रविन्द्रसिंह बानियाँले आफु कलाकार भएजस्तो नै नलाग्ने बताए । आफु निर्विकल्प कलाकार नभएको भन्दै आफ्नो ठाउँमा अन्य कलाकार हुन पनि सक्ने बताएका बानियाँले पात्रलाई यथार्थतामा देखाउने आफ्नो प्रयास रहने बताए । यो फिल्ममा विपिन कार्की, वर्षा राउत, रविन्द्र झा पनि प्रमुख कलाकार छन् । विपिन र वर्षा कार्यक्रममा उपस्थित रहेनन् ।

‘जात्रा’ र ‘जात्रै जात्रा’ को व्यावसायिक र समीक्षात्मक सफलतापछि तयार भएको ‘महाजात्रा’ ‘जात्रा’को तेस्रो शृङ्खला हो ।

-तश्विरः ‘महाजात्रा’ फेसबुक पेज

Comments