Logo

‘सिड्नी ब्लूज’मा पुष्प र अञ्जना, शिवको कथा र माइकलको पटकथामा शंकरको निर्देशन

काठमाडौं। शङ्कर कार्कीको निर्देशनमा फिल्म ‘सिड्नी ब्लूज’ बन्ने भएको छ । शिव आर ठकुरीको कथा र किरण घिमिरे (माइकल)को पटकथामा बन्ने फिल्मको लागि प्रमुख कलाकारसमेत तय गरिएको छ ।

यो फिल्मममा अभिनेता पुष्प खड्काले ‘महापुरूष’ गर्ल अञ्जना बराइलीसँग जोडी बाँध्नेछन् । निर्माण टिमले हालै दुबै कलाकारलाई फिल्ममा अनुबन्ध गरेको जानकारी गराएको छ । शुक्रबार निर्माण पक्षले दुबै कलाकारसँग कागजी सम्झौता गरेको छ ।

हाल प्रि प्रोडक्सनमा रहेको यो फिल्ममा पुष्प र अञ्जनासँगै रवीन्द्र झा, शिव आर. ठकुरी लगायतको प्रमुख भूमिका रहने छ । शिवले यसै फिल्म मार्फत नेपाली चलचित्रमा डेब्यु गर्दै छन् । जुन २०२४ को पहिलो हप्ताबाट छायांकनको लक्ष्य राखिएको फिल्ममा आफ्नो देशको सम्भावनालाई नकारी विदेशी जीवन बिताउने वर्तमानका युवाहरूको कथा रहेको निर्देशक कार्कीले बताए । ‘अस्ट्रेलिया बस्ने युवक जसको जीवन बाहिर देख्दा निकै सुन्दर तर यथार्थमा अन्धकार छ । सो युवकको कथा यो चलचित्र मार्फत भन्ने प्रयास गर्नेछु,’ निर्देशकले बताए ।

यसको छायाङ्कन ७० प्रतिशत अस्ट्रेलिया र ३० प्रतिशत नेपालमा हुनेछ । यसको छायाङ्कनको समयमा नेपाली फिल्ममा खासै प्रयोग नगरिएको ‘मिनेचर सेट’ र ‘प्रोस्थेटिक मेकअप’को प्रयोग हुने निर्देशक शङ्कर कार्कीले बताए ।

अभिनेता खड्काले यो चलचित्रमा आफूले चार किसिमको लुक्समा र चुनौतीपूर्ण भूमिकामा अभिनय गर्नुपर्ने बताए । उनले निर्देशकको सोचलाई पूरा गर्न आफूले जतिसक्दो मेहनत गर्ने जनाए ।

आर्ट मुभिजको प्रस्तुतिमा डि मिडियाले बनाउने यो चलचित्रको रिलिज लक्ष्य २०२४ को डिसेम्बर रहेको छ । फिल्मकी निर्माता आरती शाही हुन् । तारा नेपाली कार्यकारी निर्माता र एशोसियट निर्माता धर्म सुवेदी हुन् । फील्ममा प्रकाश हमालको प्रोडक्सन र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

Comments