Logo

नेपालसँगै विश्वका दुई सय ५० शहरमा ‘महाजात्रा’ एकसाथ रिलिज हुने

काठमाडौं । चैत्र ९ गतेबाट नेपाली हलमा प्रदर्शनको लागि तयार फिल्म ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ । षट्कोण आर्टसले निर्माण गरेको ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ लाई लिएर नेपाल झैँ विदेशमा पनि दर्शकको बढ्दो चासोलाई मध्यनजर गर्दै यो नेपालसँगै प्रवासमा रहेका नेपालको लागि ४० देशको २ सय ५० बढी सहरमा प्रदर्शन हुँदैछ । यो अहिले सम्मकै ठूलो रिलिज हो ।

विदेशमा प्रदर्शनका लागि वितरण गरिरहेको एमएसएम इन्टरटेन्मेन्टस् र यसका साझेदार कम्पनीले यसलाई भव्य रिलिज गर्दैछन् । प्रवासमा रहेका नेपाली यो पारिवारिक फिल्म नेपाल झैँ रमाइलोसँग हेर्न पाउने छन् ।

उक्त कम्पनिका अनुसार संयुक्त राज्य अमेरिका र क्यानाडामा नाम्लो इभेन्ट्स र कोसेली कोलोराडो, मिडलइस्ट अन्तर्गतका देशमा कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसन, युरोप अन्तर्गतका देशमा एनएमटी डेनमार्क, जापानमा आन्वी इन्टरटेनमेन्ट्स, कोरियामा विशाल आवाज मल्टिमिडिया प्राली, न्युजिल्यान्डमा लाखे इभेन्ट्स र अष्ट्रेलियामा स्वयम् एमएसएम इन्टरटेनमेन्टस् र रोटे पिङले फिल्मलाई वितरण र प्रदर्शन गर्दैछ ।

यसका साथै, बेलायतमा रेगुलर वक्सअफिसमा प्रदर्शन हुने ‘महाजात्रा’ साउदी अरेबियामा प्रदर्शन हुने पहिलो नेपाली फिल्म बन्दैछ । अर्थात् यस अगाडि साउदी अरेबियामा कुनै नेपाली फिल्म प्रदर्शन भएको छैन । एमएसएम इन्टरटेन्मेन्टस् र मध्यपूर्व देशका वितरक कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसनको प्रयासले साउदी अरेबियामा पहिलोपटक नेपाली फिल्मको रुपमा ‘महाजात्रा’ प्रदर्शन हुँदैछ ।

निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा ‘जात्रा’ र ‘जात्रै जात्रा’ को व्यावसायिक र समीक्षात्मक सफलतापछि तयार भएको तेस्रो शृङ्खला ‘महाजात्रा’ हो । ‘जात्रा’ शृङ्खलाकै कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, प्रकाश घिमिरे, राजाराम पौडेलसँगै यसपटकबाट अभिनेता हरिवंश आचार्य, दिव्य देव, गौमाया गुरुङसम्म जोडिएका छन् ।

Comments