फागुन १ गतेबाट हल बन्द गर्ने ‘गोपीकृष्ण मुभिज्’को घोषणा
काठमाडौं । आगामी फागुन १ गतेबाट चाबहिलस्थित गोपिकृष्ण फिल्म हल बन्द हुने भएको छ । फिल्म हल सञ्चालन गरेको व्यवस्थापन कम्पनि गोपी कृष्ण मुभिज् प्रा.लि.ले प्रेस विज्ञप्ति जारी गर्दै फिल्म हल बन्द गर्ने निर्णयमा पुगेको जानकारी गराएको हो ।
‘२०५२ साल देखि संचालनमा आएको यस गोपीकृष्ण मुभिज् प्रा.लि चावहिल, काठमाण्डौं, २०८० साल फाल्गनु १ गते देखि बन्द हुने व्यहोरा दुःखका साथ जानकारी गराउँदछौं’, प्रवन्ध निर्देशक निरक पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘कोरोनाको संक्रमणकालदेखि नै चलचित्र क्षेत्रमा आएको व्यवसायिक मन्दीका कारण यस प्रा.लि.ले व्यहोर्नु परेको ठूलो आर्थिक घाटा तथा राज्यको विद्यमान कर प्रणालीले गर्दा चलचित्र निर्माण, प्रर्दशन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको व्यवसायलाई बन्द गर्ने निर्णयमा पुग्दा पीडाबोध भएको पौडेलले बताएका छन् ।