बर्लिनका गोल्डेन बेयर विजेता ‘निफ’को प्रमुख निर्णायक
काठमाडौं । दुई दुई पटक बर्लिन फिल्म फेस्टिभलमा अवार्ड जित्ने चाइनिज फिल्म निर्देशक तथा प्रोफेसर सिए फेई नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को फिचर फिल्म प्रतिस्पर्धातर्फ प्रमुख निर्णायकको रुपमा नेपाल आउने भएका छन् ।
महोत्सव अध्यक्ष केपी पाठकले सिए फेईले निर्णायकको भूमिकासँगै फिल्म लेखन निर्देशनसम्बन्धी मास्टरक्लास पनि दिने तय भएको जानकारी गराएका छन् । मास्टर क्लासअघि उनको अन्तिम निर्देशन रहेको चलचित्र ‘सङ अफ तिब्बत’ देखाइने अध्यक्ष पाठकले बताए ।
बेइजिङ फिल्म एकेडेमीबाट निर्देशनमा स्नातक गरेका फेईले सन् १९९० मा निर्देशन गरेको ‘ब्ल्याक स्नो’ ले बर्लिनको दोस्रो ठूलो अवार्ड सिल्भर लाइन जितेको थियो भने यसको तीन वर्षपछि उनैले निर्देशन गरेको ‘ वुमन सिसम ओइलमेकर’ले बर्लिनको मुख्य अवार्ड गोल्डेन बेयर जितेको थियो । सन् २००० मा ‘सङ अफ तिब्बत’ निर्देशन गरेयता उनले कुनै पनि फिल्म निर्देशन गरेका छैनन् ।
बेइजिङ फिल्म एकेडेमीका पूर्व उपाध्यक्ष समेत रहेका सिए फेई सन् १९८० देखि निरन्तर प्राध्यापनमा संलग्न छन् । अहिले विश्व सिनेमामा नाम बनाएका चेन काई, तिआन् झाङझुङ, झाङ यिमाऊ, जिया जाङके सिए फेईकै विद्यार्थी हुन् ।
८० वर्षको उमेर पार गरेका सिए फेई अहिले पनि नयाँ पुस्ताका चलचित्रकर्मीका लागि आर्ट कन्सल्टेन्टको रुपमा काम गर्छन् ।
निफको यस वर्षको संस्करणमा ४० देशका ८८ वटा लामा, छोटा तथा वृत्तचित्र प्रदर्शन हुनेछन् । प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तक्र्रियाका कार्यक्रम पनि आयोजना गरिने पनि आयोजकले जनाएको छ । महोत्सव आगामी चैत १ देखि ५ सम्म काठमाडौँमा आयोजना हुनेछ ।