ठुलोपर्दामा डेब्यू गर्दै माइकल चन्द, ‘राम नाम सत्य’ घोषणा
काठमाडौं । म्युजिक भिडियोका स्थापित निर्देशक माइल चन्दले फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन् । माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा नयाँ फिल्मको घोषणा गर्दै उनले फिल्म निर्देशनमा हात हालेका हुन् ।
माइकलले निर्देशन गर्न लागेको डेब्यू फिल्मको नाम ‘राम नाम सत्य’ राखिएको छ । फिल्मको कथा पनि स्वयंम चन्दले नै लेखेका हुन् ।
फिल्ममा प्रकाश शाह, उपेन्द्र शाही र राज कटुवालको लगानी रहने पक्का भएको छ । यो फिल्मको सार्वजनिक थिम पोष्टरमा एउटा ठूलो घन्टी र बञ्चरोलाई देखाइएको छ । साथमा, आकृतीमा एक पुरुष दौडिरहेको देख्न सकिन्छ । डार्क शैलीमा तयार पारिएको पोष्टरले फिल्मको बारेमा धेरै कुरा बोल्न खोजेको छ । फिल्मको नाम अनुसार, यसले बदलाको कथा भन्न खोजेको देखिन्छ ।
यो फिल्ममा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहने पक्का भएको छ । अहिले फिल्मको कथा लेखन र संगीतको काम भइरहेको निर्देशक चन्दले बताए । उनले भने–‘फिल्म निर्देशन गरेर यो क्षेत्रलाई केही योगदान गरौं भन्ने सोच मेरो पहिलेदेखि नै थियो । साथमा, अहिलेको समसामयिक बिषयवस्तुमा केही फरक कथा भन्नुपर्छ भन्ने पनि लागेको थियो । यसैले, फिल्म निर्देशन आरम्भ गर्न लागेको हुँ ।’
दर्जनौ म्युजिक भिडियो बनाएका चन्दले यो फिल्मलाई आउँदो बर्षबाट छायांकनमा लैजाने बताएका छन् । फिल्मका लागि कलाकारको छनोट प्रक्रिया अगाडि बढिसकेको उनले बताए ।