Logo

सौगात उपासनाको एक स्वरः ‘हात्तिछाप’ पूर्ण मनोरञ्जनको खुराक

काठमाडौं । यहि माघ २६ गतेबाट दर्शकमाझ आउन लागेको फिल्म ‘हात्तीछाप’ निर्माण टिम यतिबेला प्रचार प्रसारमा व्यस्त छ । कलाकारहरू विभिन्न मेला महोत्सवदेखि मिडियामा पुगेर फिल्म हेर्न दर्शकलाई आग्रह गरिरहेका छन् ।

सौगात मल्ल र उपासना सिंह ठकुरी प्रमुख भूमिकामा रहेको फिल्म पूर्ण मनोरञ्जनको खुराक बनेको निर्माण टिमदेखि कलाकार बताउँछन् । हालैको मिडिया कुराकानीका क्रममा सौगात र उपासनाले फिल्मले दर्शकलाई २ घन्टा पूर्ण रुपमा मनोरञ्जन दिने बताए ।

फिल्ममा सौगात मल्ल ‘बोत्तल राजा’को भूमिकामा छन् । सौगात भन्छन्, ‘हामीले राम्रो फिल्म बनाएर दर्शकलाई मनोरञ्जन दिने कोशिश गरेका छौं । यसका लागि फिल्मका सबै टिमको मिहिनेत निकै छ । आशा छ, दर्शकले यो फिल्मलाई मन पराउनुहुनेछ ।’

फिल्म ‘२ नम्बरी’मा एकसाथ काम गरेपछि नायकद्वय दयाहाङ राई र सौगात मल्लको साथमा नायिका उपासना सिंह ठकुरीले ‘हात्तीछाप’मा काम गरेकी हुन् । उपासना पनि फिल्मलाई लिएर निकै नै खुशी देखिइन् । फिल्मले सामाजिक कथावस्तुलाई उठाएको उनको भनाई छ । उपासना भन्छिन्–‘म फिल्मको स्क्रिप्ट मन परेपछि मात्र काम गर्न अग्रसर हुन्छु । यसपटक पनि कथा पढ्दा मज्जा लाग्यो । यसमाथि, दया र सौगात दाई भएपछि फिल्ममा यसै रमाइलो भइहाल्छ ।’

फिल्म ‘२ नम्बरी’मा उपासना र सौगातको प्रेम देखाइएको थियो । यसपटक भने, दया र उपासनाको प्रेम देखाइएको छ । यो बिषयमा उपासना भन्छिन्–‘यो फिल्ममा दया दाई र मेरो ल्वाङ गाउँको अर्गानिक प्रेमकथालाई प्रस्तुत गरिएको छ । दर्शकले, दया दाई र मेरो जोडीलाई पनि मन पराउनुहुन्छ भन्ने लागेको छ ।’

फिल्मका निर्देशक सिमोस सुनुवारसँग काम गर्न निकै सहज भएकाले पनि नयाँ नयाँ कुराहरु फिल्ममा आफैले जोड्न पाएको सौगातले सुनाए । उनले रमाइलो गर्दै भने–‘सिमोसजीसँग काम गर्न त एकदमै सजिलो थियो । उहाँलाई यसो गरौं भन्ने वित्तिकै गर्न पाइने । यसैले, केही संवादहरु मैले आफै थपेको छु । निकै रमाइलोसँग काम गर्यौं ।’

फिल्ममा भुकम्पको कथा पनि उठाइएको उपासनाले खुलासा गरेकी छिन् । उनले भनिन्, ‘हाम्रो फिल्मले समाजमा भइरहेको घटनालाई नै प्रस्तुत गरेको छ । कतिपय कुराहरु हामीले देखेर पनि वेवास्ता गरिरहेका हुन्छौं, ती विषय फिल्ममा छन् । यस्तै, फिल्मले भूकम्पको कथालाई पनि उठान गरेको छ । समसामयिक विषयलाई रोचक तरिकाले उठान गरिएकाले हात्तीछाप विशेष छ ।’

Comments