Logo

‘महाजात्रा’ गीतलाई कस्तो आयो प्रतिक्रिया ?

काठमाडौं । माघे संक्रान्तिको अबसरमा फिल्म ‘महाजात्रा’ मा समावेश पहिलो गीत रिलिज भयो । निर्माण कम्पनि षट्कोण आर्ट्सले आगामी चैत्र ९ गतेलाई प्रदर्शन मिति तोकेको फिल्मको पहिलो गीत रिलिज गर्दै प्रचार थालनी गर्यो ।

‘जात्रा’ र जात्रै जात्रा’पछि सिक्वेलकै रूपमा निर्माण भएको ‘महाजात्रा’ दर्शकलाई प्रतिक्षित फिल्म हो । पैसाको चक्कर वरीपरी घुमेको ‘जात्रा’ले दर्शकलाई राम्रो मनोरञ्जन प्रदान गर्न सफल थियो । त्यसैको उत्साहमा निर्माण ब्यानर थप नयाँ सिक्वेल निर्माणमा जुटेको हो ।

सोमबार सार्वजनिक गीतलाई दर्शकले सुखद प्रतिक्रिया दिएका छन् । गीतमा ‘दि कार्टून क्रियू’की आश्मा विश्वकर्मा नृत्यमा छिन् उनको साथमा ‘महापुरूष’ अभिनेता अरुण क्षेत्री नृत्यमा छन् । आश्मा र अरुणको नृत्य स्टेप लोभलाग्दो छ । सँगसँगै प्रमुख कलाकारहरू विपिन कार्की, वर्षा राउत, रविन्द्रसिंह बानियाँ र रविन्द्र झा पनि फ्रेममा झुल्केका छन् ।

गीतमा कोरियोग्राफी कविराज गहतराजको छ । उनले आश्मा र अरुणको केमेष्ट्रि गज्जबले बाँधेका छन् । तर फिल्मको गीतमा फिल्मी मात्रै देखाउन कलाकारलाई झुल्क्याइएको तर गीत पुर्णतः म्युजिक भिडियोको फ्लेभरमा निर्माण भएको प्रतिक्रिया सामाजिक सञ्जालमा आएका छन् । ‘रीच मेकिङ’ देखिएको भिडियोको सेटअप भने लोभलाग्दो छ ।

यूट्युवमा प्राप्त २ सय बढि प्रतिक्रिया प्रायः सुखद आउँदा भ्यूज भने गीतले धेरै पाएको छैन । समाचार तयार पार्दासम्म यो गीत ६३ हजार पटक हेरिएको छ । रिलिजको २४ घण्टा पुग्नै लाग्दा १ लाखको नजिक पनि भ्यूज नपुग्नु निर्माण टिमको लागि आशातित सफलता होइन । त्यसो त रिलिज पहिले नै फिल्मको गीत आउन लागेको भन्दै ठुला मिडिया र सामाजिक सञ्जालमा समेत निर्माण टिमले प्रचार गरेको थियो ।

गीतमा एकनारायण भण्डारीको शब्द रचना समावेश हुँदा आशिष अविरलको संगीतमा आशिष र अस्मिता अधिकारीको स्वर समावेश छ । आशिष अविरलले निर्माण गर्ने प्रायः गीतमा एकै फ्लेभर झल्किन्छ ‘महाजात्रा’को ‘आहा क्या राम्रो’ गीत पनि त्यसबाट अछुतो छैन । प्रदीप भट्टराईको लेखन र निर्देशनमा बनेको यो फिल्ममा हरिवंश आचार्य पनि प्रमुख अभिनयमा छन् ।

हेर्नुहोस् गीतः

Comments