‘१२ गाउँ’ बाट छोरालाई डेब्यू दिँदै विराज, नेपाल र भारतमा हुनेछ छायांकन
काठमाडौं । अभिनेता विराज भट्टले अन्ततः छोरालाई रजतपटमा डेब्यू गराउने भएका छन् । लामो समयदेखि सामाजिक सञ्जाल र नेपाली फिल्म क्षेत्रबाट टाढा राखेका विराजले आफ्नो आउँदो प्रोजेक्ट ‘१२ गाउँ’बाट छोरालाई अभिनेतामा डेब्यू गराउने निधो गरेका हुन् ।
पारिवारिक परिचय गोप्य राख्दै आएका विराजले छोराको पनि कुनै परिचय हालसम्म खुलाएका छैनन् । उनि र उनको परिवारबाहेक सायदै कसैसँग मात्रै उनको छोराको तश्विर छ । विराजले छोरालाई हाल भारतको मुम्बईमा अभिनय कक्षासँगै मार्सल आर्ट गराइसकेका छन् ।
छोरालाई ‘हिरो’मा फिट गराउन विराजले मुम्बईमा हरेक महिना झण्डै ६ लाख बढि रकम खर्चिँदै आएको श्रोत बताउँछ । २४ वर्षिय छोरालाई डेब्यू गराउँदा अन्य कलाकार ‘को-को’ रहने भने तय भइसकेको छैन । उक्त फिल्मलाई विराजले निर्माण र निर्देशन मात्रै गर्ने मनस्थिति बनाएको बुझिएको छ ।
नेपाल र दक्षिण भारतमा छायांकन गरिने फिल्म पुर्णतः एक्सनप्रधान बन्नेछ । नेपाली र हिन्दीसँगै दक्षिण भारतीय विभिन्न भाषामा तयार हुने उक्त फिल्ममा ‘साउथ फिल्म’का नाम चलेका कलाकार समेत रहने बताइएको छ । जाडोयाम सकिएसँगै प्रोजेक्टलाई फ्लोरमा लैजाने तयारी गरिरहेका विराज फिल्मको छायांकन समेत गुपचुप गर्ने मनस्थितिमा छन् । विराजले पछिल्लो पटक आफ्नै निर्माण निर्देशनमा फिल्म ‘साङ्ग्लो’ बनाएका थिए ।