मण्डलामा मलिका स्टारर डेब्यू नाटक ‘पगला घोडा’
काठमाडौं । अभिनेत्री मलिका महतको डेब्यू नाटक ‘पगला घोडा’को मञ्चन मिति तय भएको छ । ‘थिएटर आकार’को प्रस्तुतिमा मण्डला नाटक घरमा उक्त नाटक मञ्चन हुनेछ । निर्माण टिमले नाटकको थिम पोस्टर सार्वजनिक गरेको छ ।
मलिकासँगै अभिनेता प्रमोद अग्रहरी, आशान्त शर्मा, विजय ताम्राकार, बिम्ब अधिकारी लगायत यो नाटकको मञ्चमा देखिने छन् । नाटक पुस १२ गतेबाट माघ ६ गतेसम्म सोमबार बाहेक हरेक दिन मञ्चन हुनेछ भने शनिबार दुई शो राखिएको छ ।
भारतीय सुप्रसिद्ध नाटककार ‘बादल सरकार’को कथा रहेको यस नाटक नेपाली भाषामा अनुवाद गर्दै मञ्चन गर्न लागिएको हो । नाटककार बादल सरकार १९७० को दशकमा प्रगतिशील,स्थापना विरोधी नाटकहरूका लागि परिचित थिए । नाटकको नेपाली अनुवाद शिव खाँड ठकुरीले गरेका छन् । उनलाई अनुवादमा आलेख सुपरिवेक्षकको रुपमा कलाकार तथा निर्देशक आशान्त शर्माले सहयोग गरेका छन् ।
नाटकलाई घनश्याम श्रेष्ठले निर्देशन गर्दैछन् । आत्महत्या जस्तो संवेदनशील विषयवस्तुलाई दर्शक माझ कला मार्फत सम्बोधन गर्न र यस अवस्थाको बारेमा मानिसहरूलाई सचेत गराउन उक्त नाटकको परिकल्पना गरिएको निर्देशक श्रेष्ठ बताउँछन् ।