फिल्मी फ्राइडेः पर्दामा ‘दुई कदम’ भर्सेज ‘जम्प’
काठमाडौं । वलिउड फिल्मको दमदबाबीच पछिल्ला केहि हप्ता नेपाली फिल्मले प्रदर्शन समेत आँट गरेनन् । वलिउड सुपरस्टार रणवीर कपूर स्टारर ‘एनिमल’ले नेपाली हलमा प्रदर्शनको तेस्रो हप्तालाई निरन्तरता दिँदैगर्दा यो शुक्रबारबाट भने दुई नेपाली फिल्म प्रदर्सनमा आएका छन् । फिल्म हुन् ‘दुई कदम’ र ‘जम्प’।
दुई फरक जनराका फिल्म प्रदर्शनमा आउँदा पछिल्लो रिलिज नेपाली फिल्म ‘दिमाग खराब’पछि दर्शकलाई हलमा फर्काउने ध्येय दुबैको हुनेछ ।
‘दुई कदम’
सामाजिक प्रेमकथा बोल्ने यो फिल्मलाई उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन् । फिल्ममा मुख्य कलाकार नयाँ छन् । अभिनेतामा इओन लिम्बु र अभिनेत्रीमा सिमोन गिरीले डेब्यू गर्दा उनिहरूसँग अनुभवी कलाकार सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ पनि अभिनयमा छन् ।
अजम्बरी फिल्मस्को ब्यानरमा तारा देवी लिम्बुको निर्माण रहेको फिल्ममा दयाराम घिमिरेको कथा तथा पटकथा लेखन छ । विक्रम डिसीको छायांकन रहेको फिल्ममा आशिष अविरल, ताराप्रकाश लिम्बु तथा विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, कविराज गहतराज र रामजी लामिछानेको गीतमा कोरियोग्राफी, राजु किराँतीको द्वन्द्व निर्देशन तथा प्रविन ढकालको सम्पादन छ ।
‘जम्प’
सामान्य प्रचारबीच प्रदर्शनमा आएको फिल्म ‘जम्प’ मल्टिप्लेक्समा दर्शकलाई आकर्षण गर्नमा केन्द्रीत छ । केहि दिन पहिले फिल्मको प्रिमियर हुँदा दर्शकले राम्रो प्रतिक्रिया दिएका थिए । साइकोलोजी-थ्रिलर जनरामा बनेको यो फिल्मलाई आशुतोष ध्वज कार्कीले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि उनकै हो ।
‘जम्प’मा सरोज श्रेष्ठ, विनिता थापामगर, सन्देश शाक्य, मन्जिल जिसी, सगुन तामाङ, रोशनी स्याङ्ग्बो, शंकर महर्जन लगायतको अभिनय छ ।
जाडो मौसम सुरू भएसँगै हल सुनसान हुने दिन बढ्दै जाँदा दुबै फिल्मलाई दर्शक हलसम्म तान्न चुनौती छ ।