Logo

अम्बिका र शंकरले ल्याए ‘भाव’ र ‘अनुपम यात्रा’

काठमाडौं । गीतकार अम्बिका गुरुङको एकल शब्द र संगीतकार शंकर थापा ‘स्माइल’को एकल संगीतमा रहेका दुई गीति संग्रह ‘भाव’ र ‘अनुपम यात्रा’ विमोचन गरिएको छ । राजधानीमा आयोजित एक समारोहका बीच दुई एल्वम एकसाथ विमोचन गरिएको हो । प्रमुख अतिथी संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, प्रतिष्ठित संगीतकार शम्भुजित बाँस्कोटा, विशिष्ठ अतिथीहरु संगीत उद्योग संघ, नेपालका अध्यक्ष सूर्य बहादुर मगर, गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापा, संगीतकार संघ नेपालका उपाध्यक्ष अष्ट लामा, एल्मबमा श्रष्टाद्वय गीतकार गुरुङ र संगीतकार थापा, राष्ट्रिय लोक सांस्कृतिक संघ नेपालका महासचिव योगेन्द्र उपाध्याय, पीम नेपालका अध्यक्ष माधव राज खरेललगायतले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

समारोहमा बोल्दै प्रमुख अतिथी बाँस्कोटाले संगीतकार थापा नेपाली गीतसंगीतको स्टार संगीतकार भएको बताए । उनले उत्कृष्ट संगीत सृजना मार्फत स्रोताहरुको मन जितेर नेपाली संगीतमा एकछत्र राज गरिरेको भन्दै उनको प्रसंशा गरे । यस्तै गीतकार गुरुङलाई त्यागी गीतकारको उपमा दिँदै बाँस्कोटाले उनका सृजनाले नेपाली संगीतलाई निरन्तर रुपमा सिंचित गरिरहेको बताए ।

कार्यक्रममा संगीतकार थापाले सार्वजनिक दुई एल्वमहरुको बारेमा प्रष्ट पारेका थिए । उनले अतिथीहरुले आफ्ना सृजना प्रति दिएको प्रतिक्रियाले आफु उत्साहित भएको बताए । उनले निरन्तर रुपमा आफुलाई विश्वास गरेर संगीत सृजनाको जिम्मेबारी दिनुहुने अम्बिका गुरुङ प्रति आभार प्रकट गरेका छन् । यस्तै गीतकार अम्बिका गुरुङले आफुले सयभन्दा बढी गीतमा संगीतकार थापासँग सहकार्य गरिसकेको जनाइन । सयभन्दा बढी गीतमा सहकार्य गर्दै गर्दा आफुहरुको सहकार्यलाई कृतिका रुपमा एल्वममार्फत सार्वजनिक गरेको उनको भनाई छ । उनले शंकरको संगीत सृजना उत्कृष्ट रहने भएकैले निरन्तर रुपमा सहकार्य गरिरहेको जनाइन ।

सार्वजनिक एल्बमहरु मध्ये ‘भाव’मा यो मनले भन्छ, आँखा खोल्दा, सँग सँगै, आँखा नलागोस, मात्तिएको बेला, अजम्बरी पिरती, रुपको बयान, छड्के नजर, मायाको छु भोको र धेरै भाउ नखोज गरि १० वटा गीतहरु समावेश छन् । यस्तै ‘अनुपम यात्रा’मा देखिन तिमी जस्तो कोही, सदियौं देखि, तिमी सँगै, भुल्न सकिन, कारण तिमी, तिमी टाढा, गुराँसैको फूल फुल्दा, बुझाउँ कसरी र कारण तिमी (फिमेल भर्सन) गरि ९ वटा गीतहरु समावेश छन् । सार्वजनिक दुबै एल्वमहरूलाई भावसागर इन्टरटेनमेण्ट एलएलसीले उत्पादन तथा बजार व्यवस्थापन गरेको हो ।
-विष्णु सुवेदीको सहयोगमा

Comments