‘वरिष्ठ बलराम’ निर्माण घोषणा, दीलिप पुत्री दिव्याको डेब्यू
काठमाडौँ । रोहित अधिकारी फिल्मस्’को निर्माण र ओएसआर डिजिटलको सहकार्यमा बन्ने फिल्म ‘वरिष्ठ बलराम’को औपचारिक निर्माण घोषणा गरिएको छ । फूलपातीको अबसरमा निर्माण टिमले फिल्मको निर्माण घोषणा गर्दै दशैंको शुभकामना दर्शकलाई छोडेको छ ।
रोहित अधिकरी र ओम अग्रवालकोको निर्माणमा बन्ने फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । निर्माण टिमले कास्टिङ लाइनअप पनि सार्वजनिक गरेको छ । यो फिल्मको प्रमुख अभिनयमा दयाहाङ राई, खगेन्द्र लामिछाने र दिव्या रायमाझी रहनेछन् । अभिनेता दीलिप रायमाझीकी पुत्री दिव्याको लागि यो डेब्यू फिल्म रहनेछ ।
रोमान्टिक कमेडी जनरामा बन्ने फिल्मको छायांकन मंसिर १५ गतेदेखि सुरू गरिने निर्माण टिमले बताएको छ । फिल्मको पटकथा मुख्य अभिनेता रहने खगेन्द्र लामिछानेले लेखेका छन् । फिल्मलाई सुसन प्रजापतीले छायांकन गर्नेछन् । मनोज ओली र रामु न्यौपाने सह-निर्माता छन् ।