सन्तोष सेनको ‘बलिदान’ थिम पोस्टर सार्वजनिक, प्रदर्शन मिति घोषणा
काठमाडौं । आसुसेन फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्म ‘बलिदान’को शीर्षक सहितको ‘थिम पोस्टर’ सार्वजनिक गरिएको छ । सन्तोष सेनको निर्देशनमा बन्ने यो फिल्मको शनिवार दशैंको फूलपातीको अवसर पारी औपचारिक घोषणा गरियो । फिल्म अर्को बर्षको दशैंको फूलपातीको दिन प्रदर्शनमा आउनेछ ।
आसुसेन प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस फिल्ममा निर्माताको रूपमा पवन ब्राडफोर्ड विस्ट तथा कार्यकारी निर्माता चक्र बहादुर चन्द, प्रेम पुरी लगायत रहेका छन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, लेखक एवम् साधक दर्शन जीको लेखन रहने यस चलचित्रको ‘स्क्रिप्ट डक्टर’को रूपमा मनोज पण्डित रहेका छन् । ‘थिम लुक’मा सार्वजनिक सामग्रीअनुसार ‘बलिदान’को कथामा राज्यका अधिकार प्रयोग गर्न सक्ने वर्ग र राज्यबाट किनारा पारिएका वर्गका बिच हुने अधिकारका द्वन्द्व तथा राजनीतिक, सामाजिक द्वन्द्व, विभिन्न आन्दोलनहरूका उत्पत्ति, कारण र परिणामलाई चित्रण हुनेछ ।
चलचित्रका निर्माता तथा निर्देशक सेनले यो चलचित्रलाई एक सार्वभौम महाकथा भनेका छन् । “नेपालको पछिल्लो राजनीति तथा मधेसमा भएका आन्दोलनका मुद्दामा आधारित छ कि छैन भन्ने सन्दर्भमा शान्तिपूर्ण आन्दोलन गर्दा आफ्नो स्वार्थको दाल दल्ने देशी विदेशी कुटिलहरू प्रवेश गरी उत्पन्न हुने बीभत्स परिवेशलाई चित्रण गर्ने हुनाले यसको कथा नेपालको मधेसको त हो नै, साथै जहाँ पनि र जहिले पनि यस्ता मुद्दा चलिरहने हुँदा एक सार्वभौमिक महाकथा हो” सेनले बताए ।
यो चलचित्रमा विषयवस्तु यथार्थ रहेको तर स्थान तथा पात्र काल्पनिक रहेको सेनले बताए । “यस चलचित्रमा काल्पनिक रङ दिएर नेपाली समाजमा भए गरेका मधेस मुद्दालगायत सबैतिर देखिने राज्यपीडितका मुद्दालाई सशक्त रूपमा उठाउने र नेपाली राजनीतिको सूक्ष्म अवलोकन गरी नेपालमा सधैँ अस्थिरता फैलाइरहने कुटिल तत्त्वको पहिचान गरी त्यस्ता तत्त्व देखी सचेत भएर जुनसुकै तरिकाले बली चढाउनुपर्ने सन्देश हामीले यस चलचित्रमा दिनेछौँ’, उनले बताए ।
सेनका अनुसार यस चलचित्रमा सहज आन्दोलन या अधिकारको लडाइँ हुँदा देशी विदेशी कुटिलहरू प्रवेश गरेर कसरी समाज च्यातच्युत पारिन्छ भन्ने कुरालाई चित्रण गरिनेछ । अति भएपछि देशको अस्मिता जोगाउन युगले एक असली युग पुरुष जन्माउँछ भन्ने सत्यलाई पनि चलचित्रको कथामा आत्मसात् गरिने उनले बताए ।
“त्यस पुरुषले नै तानासाही कुटिलहरूको बलि दिएर समाज तथा भूगोल टुक्रिनबाट कसरी योगदान दिइरहेको हुन्छ र युगमा परिवर्तन आउँछ भन्ने सार्वभौमिक सत्यको प्रतिपादन गरिने चलचित्र ‘बलिदान’ हो”, सेनले थपे । तिहार लगत्तै यो चलचित्रको छायाङ्कनमा जाने तयारी गरिएको छ ।