‘बुलाकी’ निर्माताको ‘महाराजधिराज’ घोषणा,सेनले निर्देशन गर्ने
काठमाडौं । गत बैशाखमा नयाँ बर्षको अबसरमा रिलिज फिल्म ‘बुलाकी’का निर्माता तथा कलाकार विराज विष्टले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । विष्टको प्रस्तुतिमा फिल्म ‘महाराजधिराज’ निर्माण हुने भएको हो ।
उक्त फिल्मलाई युवा निर्देशक परिच्छेद सेनले निर्देशन गर्नेछन् । घटस्थापनाको अबसर पारेर आइतबार काठमाडौंको मैतिदेवी मन्दिरमा निर्माता र कलाकारले पूजा गर्दै कार्यसफलताको कामना गरे । फिल्म सामाजिक कथामा तयार हुनेछ । छत्रेश्वरी म्यानेजमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने फिल्मको निर्माण घोषणासँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ । यो फिल्म अर्को बर्ष अर्थात २०८१ को दिपावलीमा रिलिज हुनेछ ।
प्रस्तुतकर्ता रहेका विष्टको निर्माण कम्पनि छत्रेश्वरी म्यानेजमेन्टकै ब्यानरमा बनेको ‘बुलाकी’ले गत महिना वितरण गरिएको राष्ट्रिय चलचित्र पुरस्कारमा बर्ष २०७९ सालको ‘विशेष फिल्मको अवार्ड’ जित्न सफल भएको थियो भने उक्त फिल्म नेपालबाट २०२३ मा ओस्कार अवार्डमा प्रतिनिधित्व गर्ने नेपाली फिल्मको ‘सर्टलिस्ट’मा समेत परेको थियो ।
‘महाराजधिराज’ निर्देशन गर्न लागेका सेन नेपाली फिल्मको पछिल्लो पुस्ताका संभावनावान निर्देशकमा गनिन्छन् । उनले फिल्म ‘प्रेमगञ्ज’बाट निर्देशकीय तारिफ पाएका थिए । ‘प्रेमगञ्ज’ अघि उनले मोदर र स्ट्राइक नामका सर्ट फिल्म पनि निर्देशन गरिसकेका छन् । यी दुवै फिल्मले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितेका थिए । फिल्म ‘महाराजधिराज’मा टोपेन्द्र विष्ट निर्माता रहनेछन्, भने अन्य ‘कास्ट एण्ड क्रू’बारे निर्माण टिमले जानकारी गराएको छैन ।