Logo

‘परदेशी २’ हेरेपछि हरिवंश आचार्यः ‘मन मुटु छोयो आँखा रोयो’

काठमाडौं । शुक्रबारबाट प्रतिक्षित फिल्म ‘परदेशी २’ दर्शकमाझ आएको छ । दशैंको छेकोमा प्रदर्शनमा आएको यो फिल्म ८ बर्षपहिले रिलिज ‘परदेशी’को सिक्वेल हो । फिल्मको रिलिज प्रारम्भमा निर्माण टिमले शुक्रबार राजधानीमा विशेष प्रदर्शनी गरेको छ ।

वानेश्वरमा सम्पन्न प्रदर्शनीमा सेलिब्रेटीहरूले फिल्मलाई मन्त्रमुग्ध प्रतिक्रिया दिएका छन् । अभिनेता तथा हाँस्य कलाकार हरिवंश आचार्यले फिल्मले लोक संस्कृति लपक्कै लिपेको बताए । व्याकग्राउण्ड म्युजिक उस्तै मौलिक लागेको बताए । प्राविधिक रूपमा चलचित्र राम्रो बनेको उनको भनाइ छ । प्रकाश सपुतको अभिनयको तारिफ गर्दै उनले संभावनावान नायकको उपमा दिए । अभिनेत्री केकी अधिकारी र वर्षा शिवाकोटीको अभिनयको पनि आचार्यले खुलेर तारिफ गरे ।

‘मन मुटु छोयो आँखा रोयो’, आचार्यले भने, ‘सवै पक्षबाट फिल्म उत्कृष्ट छ, नेपाली समाजको माटो बोल्छ । उता अभिनेता दीपकराज गिरीले निर्देशक नारायण रायमाझीको प्रस्तुतिकरणको मौलिकताको तारिफ गरे । मसलेदार फिल्म भन्दा यो फिल्म पृथक लागेको बताए । रायमाझी आँफै संवेदनशिल रहेको भन्दै त्यसको महसुस फिल्ममा पनि गर्न पाएको गिरीले बताए ।

हाँस्य कलाकार मनोज गजुरेलले गाउँघरको कथा गाउँ नै रित्तो भएर विदेशिनुको पीडा फिल्मले जस्ताको तस्तै उतारेको भन्दै तारिफका शब्द पोखे । उनले फिल्मले समस्या मात्र नदेखाएर समाधानको लागि पनि बाटो देखाएको उनको भनाइ छ ।

Comments