Logo

फिल्मी फ्राइडेः दर्शकमाझ ‘परदेशी २’ र ‘कौसीद’

काठमाडौं । दशैंको छेकोमा घटस्थापना पहिलेको शुक्रबारबाट दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ र कुमार भाष्कर निर्देशित फिल्म ‘कौसीद’ले एकसाथ प्रदर्शन थालनी गरेका हुन् ।

‘परदेशी २’

यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट फिल्म दिएका निर्देशक नारायण रायमाझीको ‘परदेशी २’ तेस्रो फिल्म हो । फिल्म निर्माता वंशल र निर्देशक रायमाझीले मिलेर यो फिल्मलाई निर्माण गरेका हुन् । फिल्ममा प्रकाश सपुत, केकी अधिकारी, वर्षा शिवाकोटी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको अभिनय छ ।

यो फिल्मको कथा तथा पटकथा रमेश बिजीले लेखेका हुन् । फिल्ममा दीर्घ खड्काको सम्पादन छ । परदेशीको पीडा बोल्ने फिल्मले उत्साहप्रद ओपनिङ गर्ने निर्माण टिमको अपेक्षा छ ।

‘कौसीद’

केदार भुसालको निर्माणमा तयार भएको यो फिल्म निर्देशक भाष्करको डेब्यू फिल्म हो । फिल्ममा भोलाराज सापकोटा र ऋचा शर्मा प्रमुख अभिनयमा छन् भने रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सन्दीप लोहनी पनि अभिनयमा छन् । कार्यकारी निर्माता दिमेश श्रेष्ठ र सह-निर्माता लक्ष्मण बानियाँ छन् । यो फिल्मको कथा लेखन नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन् । निसाल पौडेलले छायांकन गरेको फिल्ममा भिम विश्वकर्माको सम्पादन छ ।

बड पिक्चर्सको ब्यानरमा तयार भएको फिल्मलाई आर आर फिल्मस् ले वितरण अधिकार लिएको छ । फिल्म ‘कौसीद’ले वित्तिय ऋणको चपेटामा परेको एक शिक्षकको परिवारको कथा बोल्छ ।

Comments