छायांकनमा नजाँदै ‘महाजात्रा’लाई २ करोड !
काठमाडौं । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘महाजात्रा’ले छायांकन पूर्व नै २ करोड आफ्नो पक्षमा सुरक्षित गरेको छ । प्राप्त जानकारी अनुसार फिल्मले ग्लोबल प्रदर्शन अधिकारबापत भारतबाहेकको देशको लागि २ करोड आम्दानी सुरक्षित गरेको हो ।
अष्ट्रेलियामा रहेर केही समययता नेपालबाहेक विश्व प्रदर्शन अधिकार खरिद गरिरहेको एमएसएम इन्टरटेन्मेन्टका लागि वितरक छत्र थापाले ‘महाजात्रा’ को भारत बाहेकका लागि प्रदर्शन अधिकार खरिद गरेका छन् । उनले कथाले पूर्णता नपाउँदै चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गर्नुलाई ‘जात्रा’ शृङ्खला प्रति दर्शकमा रहेको विश्वासलाई मुख्य कारण देखाए ।
‘जात्राका दुवै शृङ्खलाले दर्शकको मन जितेको छ । अन्य चलचित्रको प्रदर्शनीको समयमा समेत जात्राको आगामी शृङ्खला कहिले आउँछ ? भन्ने जिज्ञासा सुनिन्छ । त्यहिँ कारणले पनि मैले निर्माण पक्षलाई दर्शकको भावना सुनाए । उहाँहरूले निर्माण तय गरेर लेखनकै क्रममा हुँदा अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरें’, वितरक थापाले भने,‘मैले खरिद गरेको थाहा भएपछि धेरैले मसँग अधिकाँस देशमा प्रदर्शन अधिकार खरिद गरिसक्नु भएको छ । सबैले मेकर्सलाई विश्वास गर्नुभएको छ, साथै जात्राको अघिल्लो शृङ्खलाले बनाएको ब्राण्डको विश्वसनीयता पनि हो ।’
वितरक थापाले प्रवासमा रहनुभएका नेपाली दर्शकले निर्देशक प्रदीप भट्टराई, षट्कोण आर्ट्स, रवीन्द्रसिंह बानियाँ लगायतको समुहलाई निर्धक्क विश्वास गर्ने भएकाले अहिलेसम्मकै महँगो मुल्य तिरेर प्रदर्शन अधिकार खरिद गरेको जानकारी दिए ।
‘चलचित्रको कति मुल्य पर्यो भन्दा पनि यसले उचित मुल्य पाएको छ । मैले यसका पछिल्ला शृङ्खलाले गरेको व्यापार र प्रवासमा वितरक र दर्शकको माँग बुझेर अहिलेसम्मकै महँगो मुल्यमा खरिद गरेको हुँ । मैले जुन विश्वासले चलचित्र किने, त्यहिँ विश्वासले मसँग अधिकाँस देशका वितरकले खरिद गरिसकेका छन् । त्यसले पनि महाजात्रालाई लिएर दर्शक कति प्रतिक्षित छन् भन्ने प्रस्ट्याउछ । मैले कहिँ कतै किनिदेउ भनेको छैन, चलचित्र नपाउने साथी रिसाएका छन्’, वितरक थापाले भने ।
उनले जापान, हङ्गकङ्ग, न्युजिल्यान्ड, दक्षिण कोरिया, मध्यपूर्वका देशहरू, अष्ट्रेलिया, युरोपमा चलचित्र नेपालकै मिति चैत्र ९ मा प्रदर्शन हुने तय भएको र अन्य बाँकी देशमा उक्त समयसम्म प्रदर्शन तय हुने जानकारी दिए । वितरक थापाले ‘महाजात्रा’ मार्फत केही नयाँ देशहरूमा नियमित चलचित्र प्रदर्शनको सुरुआत हुने समेत जानकारी गराए ।
विशेषतःविदेशमा मौलिक नेपालीपन बोकेको चलचित्रको बजार बलियो देखिएको छ । सरल नेपाली चलचित्र हेर्न परिवार नै साथै आउने गरेका छन् । चलचित्रका कार्यकारी निर्मातासमेत रहेका अभिनेता रवीन्द्रसिंह बानियाँले ‘जात्रा’ शृङ्खलाको सफलता र दर्शकको प्रतीक्षाले नै ‘महाजात्रा’ निर्माण हुन् लागेको बताए ।
‘हाम्रो पछिल्लो चलचित्र जात्रै जात्रा इन्टरनेट रिलिज भएपछि अधिकाँस दर्शकले सामाजिक सञ्जालमार्फत आगामी शृङ्खला ल्याउन आग्रह गर्दै जिज्ञासा राख्नु हुन्थ्यो । हामीलाई दर्शकसँगै समीक्षकमार्फत पाएको प्रतिक्रियाले शृङ्खलालाई निरन्तर दिन हौसाएको हो’, कार्यकारी निर्माता बानियाँले भने,‘हामीले शृङ्खला थप्न हतार गरेनौँ । अहिले कथा अगाडी बढाउने आइडियामा निर्माण समुह सहमत भएपछि काम अगाडी बढाएका छौँ ।’
उनले अन्तर्राष्ट्रिय वितरकले गरेको विश्वास र दर्शकले दिएको मायाले पछिल्ला शृङ्खलाको तुलनामा बलियो हुनुपर्ने दायित्व महसुस भएको बताए । ‘हामीले सानो रुपमा सुरू गरेको जात्रासँग अहिले दर्शकको भावनात्मक सम्बधन जोडिएको छ । यसले गर्ने व्यापार, प्रवासको बजार लगायतले हाम्रो मात्र नभई अन्य नेपाली चलचित्रलाई पनि टेवा पुर्याउने छ भन्नेमा विश्वास छौँ’, कार्यकारी निर्माता बानियाँले भने ।
हिट सिरिज ‘जात्रा’को शृङ्खलाकै रूपमा पर्दामा आउन लागेको यो फिल्ममा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत र अरविन खड्कासँगै यसपटक हरिवंश आचार्य पनि जोडिएका छन् ।