लोसपाको केन्द्रीय सदस्य बने फिल्मकर्मी करण
काठमाडौं । लामो समयदेखि नेपाली फिल्मको अभिनय, निर्माण र वितरणमा सक्रिय करण श्रेष्ठ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । सोमबार बसेको लोसपाको कार्यकारिणी समितिको बैठकले पदाधिकारीसहित तीन सय ११ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । जसमा फिल्मकर्मी तथा हाल लोसपा वागमती प्रदेश अध्यक्ष रहेका करण श्रेष्ठ केन्द्रीय समितिमा सदस्यमा मनोनित भएका हुन् ।
फिल्मकर्मी श्रेष्ठले राजनीतिक पार्टीले कलाकर्मीलाई प्रचारका लागि मात्र प्रयोग गर्न नहुने बताए । ‘हामीले आफ्नो दायित्वलाई निर्वाह गर्नुपर्छ । साथै, हामीलाई पार्टीले विश्वास गरेर जिम्मेवारी पनि दिनुपर्छ’, श्रेष्ठले भने,’मैले पाएको जिम्मेवारीलाई निष्ठापुर्वक बहन गर्नुका साथै फिल्मकर्मीको आवाजलाई बलियो बनाउने छु ।’
उनले चलचित्र नीतिको विषयसँगै देखिएका समस्यालाई केन्द्रीय समितिको वैठकमा उठाउने बताए । नेपाली फिल्ममा अभिनेताका रुपमा प्रवेश गरेका श्रेष्ठ निर्माण तथा फिल्म वितरणमा समेत सक्रिय छन् । उनी गत प्रदेश सभाको निर्वाचनमा लोसपाको तर्फबाट काठमाडौँ क्षेत्र १ (क) बाट उम्मेदवार थिए ।