जसिता स्टारर ‘हनी बनी’ फर्स्टलुक रिलिज, प्रदर्शन मिति घोषणा
दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको लभस्टोरी फिल्म ‘हनी बनी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सोमबार निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै आगामी माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गर्यो ।
सार्वजनिक फर्स्टलुकमा अभिनेता अभिमन्यु तोमर र अभिनेत्री जसिता गुरुङ रोमान्टिक अबतारमा देखिन्छन् । अभिमन्यु भारतीय मोडल हुन् । यो नै उनको पहिलो फिचर फिल्म हो ।
भारतको दिल्लीमा जन्मिएका अभिमन्युले यसअघि केही हिन्दी गीतमा अभिनय गरेका छन् । उनले अभिनय गरेको ‘याद पिया के आने लगी’ गीत सर्वाधिक चर्चित छ । यही गीतबाट उनले मोडलको रुपमा आफ्नो करिअर सुरुवात गरेका हुन् । अध्ययन, घुमफिर र पौडीका सौखिन उनले बलिउड फिल्ममा भने ब्रेक पाइसकेका छैन । ‘हनी बनी’ले बलिउड प्रवेशको बाटो खुलाउने उनको विश्वास छ ।
एबी इन्टरनेशनल र गौतम प्रोडक्सन एण्ड भ्वाइस फिल्म्ससँग सहकार्य गरेर निर्माण गरेको फिल्मका निर्मातामा अमित बस्नेत, परी राना र आरोन बस्नेत छन् भने सह(निर्माता अजित थापा र सनिस खकुरेल हुन् । अंकित गौतम कार्यकारी निर्माता रहेको फिल्मको एसोसिएट निर्मातामा सुरज कुँवर र अजित पल सिंह छन् । निर्माता अमित स्वयंको फिल्ममा पटकथा लेखन रहेको छ ।
फिल्ममा सूर्यमाला खनाल, सलोन बस्नेत, अजुनजंग शाहीलगायतको पनि अभिनय छ । अघिल्लो वर्षको जेठमा यो फिल्मको छायांकन लण्डनमा भएको थियो ।