Logo

नेता चुन्ने जनता र चुनिने नेताले हेर्नैपर्ने ‘नाङ्गो गाउँ’ : दयाहाङ राई

 

काठमाडौं ।
दयाहाङ राई नेपाली फिल्म उधोगमा बक्स अफिस ‘किङ’ मानिन्छन् । पछिल्ला समय उनका लगातार हिट फिल्म आइरहेका छन् । अभिनयबाट निर्मातालाई करोडौं दिएका दयाहाङ यो समय नेपाली फिल्मका दर्शकमाझ सर्वाधिक लोकप्रिय कलाकार हुन् ।

उनले अभिनय गरेको पछिल्लो फिल्म ‘नाङ्गो गाउँ’ यतिबेला प्रदर्शनको तयारीमा छ । यहि भदौ २९ बाट प्रदर्शनमा आउने फिल्मलाई लिएर दयाहाङ उत्तिकै उत्साहित छन् । सामाजिक तथा राजनैतिक विषय उठान गरेको फिल्मले स्वार्थमा जोडिँदा राजनीति र नेता दुबै गलत नै हुन्छन् भन्ने भाष्य निर्माण गर्न खोजेको छ ।

यो फिल्मले नेता मात्र नभई नेतालाई छान्ने प्रतिनिधि पनि कहिँकतै गलत हुने सन्देश बोकेको उनले बताए । ‘यो फिल्मले नेता र जनता दुवैलाई प्रश्न गर्छ र दुवै पक्षलाई आफूसँग प्रश्न गर्ने अवस्था बनाउन सक्छ’, दयाहाङ भन्छन्ः ‘चुनाव जिताएर पठाएको नेता इमानदार नहुँदा जनतामा राजनीतिप्रति वितृष्णा बढेको छ, तर, नेतृत्व गर्ने एकजना हो, नेतृत्वमा पुर्‍याउने सयौं जना हुन्छ । उनीहरुले अब सोच्नुपर्छ भनेर फिल्मले भन्नेछ ।’

नेता चुन्ने जनता र चुनिने नेता दुबैलाई हेर्न उत्तिकै आवश्यक रहेको भन्दै आफ्नो फिल्मले भोलीको राजनैतिक चेत कस्तो हुनुपर्छ भन्ने सन्देश पनि बोकेको उनि बताउँछन् । आफु राजनितिमा जोडिने कुनै संभावना नरहेको बताउने दयाहाङ देशको राजनीतिमा मिसिएको मैलो भने सबै मिलेर धुनुपर्नेमा जोड दिन्छन् ।

दिपेन्द्र लामाको निर्देशनमा बनेको यो फिल्ममा दयाहाङको अपोजिटमा अभिनेत्री मिरूना मगर छिन् । दयाहाङ र मिरुनाको जोडी पछिल्लो समय नेपाली पर्दामा अत्याधिक सफल जोडिमा गरिन्छ । पछिल्लो पटक लगातार हिट फिल्म दिएको यो जोडीकै कारण पनि फिल्म चर्चामा छ । बाँकी दयाहाङको उत्साह उमङ्गमा परिणत हुन्छ या निराशामा त्यो भने फिल्म रिलिजपछि नै थाहा लाग्नेछ ।

Comments