रेखाले ‘उपहार’ नयाँ वर्षमा पक्का, दयाहाङसँग हुनेछ भिडन्त
काठमाडौं । रेखा थापाको कमब्याक फिल्म ‘उपहार’ले आगामी नयाँ वर्ष २०८१ लाई प्रदर्शन तय गरेको छ । निर्देशक ज्ञानेन्द्र देउजाले फिल्म नयाँ वर्षमा दर्शकमाझ आउने जानकारी गराएका छन् । फिल्मको यतिबेला धमाधम छायांकन चलिरहेको छ ।
नयाँ वर्ष नेपाली फिल्मको लागि ‘विजनेस वे’ मा सबैभन्दा ठुलो मध्येको एक चाड हुनेगर्छ । त्यसैले पनि निर्माता सकेसम्म उक्त मितिमा फिल्म रिलिज गर्न रस्साकस्सी गर्छन् ।
‘उपहार’ उक्त मितिमा रिलिज हुँदा दयाहाङ राईको प्रमुख भुमिका रहने फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’सँग भिडन्त हुनेछ ।
रामबाबु गुरुङको निर्देशनमा बन्न लागेको उक्त फिल्मले यसअघि नै प्रदर्सन मिति तय गरेर बसेको छ । यो फिल्ममा हालै अभिनेत्रीको रूपमा आँचल शर्मा अनुबन्धित भएकी छिन् ।
उता ‘उपहार’मा रेखासँगै पूजा शर्मा, वेनिशा हमाल, मुकुन भुषाल, समर्पणजंग कार्की, शिशिर राणा, तेज गिरीलगायतको अभिनय छ रहनेछ ।